काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। सरकारको सिफारिसमा उनले संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।
नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था छ । उक्त धारामा राष्ट्रपतिले संघीय संसद्को कुनै एक सदन वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने र त्यसका लागि सदस्यहरूको उपस्थिति आह्वान गर्न सक्ने प्रावधान उल्लेख गरिएको छ ।
यसैबीच, आजै रातिदेखि संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य हुने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन् ।
सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारीका लागि यस्तो सिफारिस गरेको जनाएको छ । नेपालको संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान तथा अन्त्य गर्ने प्रावधान रहेको छ ।
प्रतिक्रिया दिनुहोस