काठमाडौं । पुर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले कानुनी र राजनीतिक लडाईं जारी रहेको बताएका छन् । उनले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित रहेको दाबी गरेका छन् ।
फेसबुकमा उनले लेखेका छन्, “गत भाद्र २३ र २४ गतेका घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखिए पनि अन्ततः म रिहा भएको छु ।”
उनका अनुसार आफू कानुन पालना गर्ने र न्यायमा विश्वास गर्ने व्यक्ति भएकाले कानुनी तथा राजनीतिक लडाईं जारी रहनेछ । उनले सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गर्दै भनेका छन्, “परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु। म कानून पालना गर्ने र न्यायमा विश्वास गर्दछु । बाँकी कानुनी र राजनीतिक लडाईं जारी रहनेछ ।”
नेपाली कांग्रेस नेता लेखकले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार पनि व्यक्त गरेका छन् ।
उनी गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दमनसम्बन्धी घटनामा छानबिनका क्रममा चैत १४ गते पक्राउ परेका थिए। सर्वोच्च अदालतको आदेशपछि उनी बिहीबार रिहा भएका हुन् ।
प्रतिक्रिया दिनुहोस