काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वामपन्थी एकताको औचित्यमाथि प्रश्न उठाएका छन् । यसअघि भएको एकताको अनुभव स्मरण गर्दै उनले फेरि वाम एकताको बहस चलिरहेकोप्रति असन्तुष्टि जनाएका हुन् ।
नेकपा (एमाले) र तत्कालीन माओवादीबीचको एकतालाई उनले पद प्राप्ति र व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गरेका छन् । ‘हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि संकट आएको भन्दै फेरि पनि वाम एकताको दौडधुपमा हुनुहुन्छ,’ उनले भनेका छन्, ‘हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन । तर, पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?’
उनले अहिले नयाँ एकताको बहसभन्दा पनि नेकपा (एमाले)लाई कसरी एकताबद्ध र बलियो बनाउने भन्ने विषयमा सोच्न आवश्यक रहेको बताएका छन् ।
विचार र स्पष्ट गन्तव्यबिना हुने एकताको कुनै अर्थ नहुने उल्लेख गर्दै उनले पार्टीको पुनर्निर्माणमा जोड दिएका छन् । दक्ष, क्षमतावान र विशेषगरी युवालाई पार्टीमा भित्र्याउनुपर्ने उनको भनाइ छ ।
‘विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम हामीले भोगिसकेका छौं । हिजो मौन बस्नु हाम्रो गल्ती थियो, तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ,’ उनले लेखेका छन् । ‘अब नेकपा (एमाले)लाई सत्ता र स्वार्थको जोडघटाउबाट होइन, विधि, सुशासन र परिणाममुखी नेतृत्वको नयाँ मार्गमा अघि बढाउनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस