काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछन् ।
बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । छलफल विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याको समाधानमा केन्द्रित रहनेछ ।
त्यसैगरी, राष्ट्रिय प्राथमिकताका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीचको सहकार्य कसरी अझ मजबुत बनाउने भन्ने विषय पनि बैठकको मुख्य एजेन्डामा रहनेछ ।
बैठकमा देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी बनाउने प्रयाससमेत गरिने अपेक्षा गरिएको छ ।
यसलाई संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र जनतामा प्रत्यक्ष लाभ पुर्याउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस