काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकको मुख्य कार्यसूची संसदीय समितिका सभापतिका उम्मेदवार तय गर्नु रहेको छ ।
संघीय संसद् अन्तर्गत कुल १६ वटा संसदीय समिति छन् । तीमध्ये प्रतिनिधिसभा अन्तर्गत १० वटा, राष्ट्रिय सभा अन्तर्गत ४ वटा तथा २ वटा संयुक्त समिति रहेका छन् ।
राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै सम्पन्न भइसकेको छ । अब प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त २ वटा समितिका सभापतिको निर्वाचन हुन बाँकी छ ।
गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन डोलप्रसाद अर्यालले आगामी शुक्रबार समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।
नियमअनुसार सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एक सदस्य प्रस्तावक र अर्का सदस्य समर्थक रहेर उम्मेदवारी दर्ता गराउन सकिने व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस