काठमाडौं । उपाधि दाबेदार बेल्जियम विश्वकप फुटबलको आफ्नो पहिलो खेलमै बराबरीमा रोकिएको छ । सिएटल स्टेडियममा भएको समूह ‘जी’ को उद्घाटन खेलमा बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको सुरुवाती आधा समय इजिप्टको पक्षमा रहे पनि दोस्रो हाफमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्यो ।
खेलको १९औँ मिनेटमा इमाम अशोरको शानदार गोलमार्फत इजिप्टले सुरुवाती अग्रता लिएको थियो। स्टार स्ट्राइकर मोहम्मद सलाहको पासलाई उत्कृष्ट रूपमा नियन्त्रण गर्दै अशोरले २० यार्ड टाढाबाट गरेको प्रहार बेल्जियमका भरपर्दा गोलरक्षक थिबाउट कोर्टुवालाई छक्काउँदै जाली चुमेको थियो।
पहिलो हाफमा इजिप्टले रक्षापंक्ति र आक्रमण दुवैमा प्रभावशाली प्रदर्शन गर्यो । बेल्जियमले गोलका लागि आठ पटक प्रयास गरे पनि कुनै पनि प्रहार लक्ष्यमा (अन टार्गेट) पर्न सकेन र पहिलो हाफमा टोली गोलविहीन रहन पुग्यो।
दोस्रो हाफमा बेल्जियमले रणनीतिक परिवर्तन गर्दै आक्रामक खेल खेल्यो । खेलको ६६औँ मिनेटमा मैदान प्रवेश गरेका रोमेलु लुकाकु बेल्जियमका लागि संकटमोचक बने। मैदान छिरेको मात्र २८ सेकेन्डमा थोमस मुनिएरको क्रसलाई रोक्ने क्रममा लुकाकुले सिर्जना गरेको दबाबका कारण इजिप्टका डिफेन्डर अहमद हानीबाट आत्मघाती गोल हुन पुग्यो । यससँगै खेल १–१ को बराबरीमा आयो ।
खेलको ७५औँ मिनेटमा मोहम्मद सलाह मैदानबाट बाहिरिएपछि इजिप्टको आक्रमण फितलो बनेको थियो । त्यसपछि खेलको अन्तिम समयसम्म दुवै टोलीले विजयी गोलका लागि केही प्रयास गरे पनि थप गोल हुन सकेन र खेल बराबरीमै टुङ्गियो ।
यो बराबरीसँगै समूह चरणको पहिलो खेलबाट दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।
प्रतिक्रिया दिनुहोस