चितवन / बिहान साढे ८ बजेबाट सुरु हुने तय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गतको बन्दसत्र निर्धारित समयमै सुरु हुन सकेको छैन। बन्दसत्र ढिलाइ हुँदा चर्को गर्मीका बीच प्रतिनिधिहरू कार्यक्रमस्थल वरपर प्रतीक्षामा बस्न बाध्य भएका छन्।
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले खाना तथा अन्य व्यवस्थापनका कारण केही ढिलाइ भएको बताए पनि बन्दसत्र सुरु हुन नसक्नुको मुख्य कारण प्रतिनिधि व्यवस्थापनमा देखिएको समस्या रहेको स्रोतले जनाएको छ। विशेषगरी मधेश प्रदेशका प्रतिनिधिको टुंगो नलाग्दा बन्दसत्र प्रभावित बनेको बताइएको छ।
अन्य प्रदेशमा अधिवेशन सम्पन्न भई प्रतिनिधि छनोट प्रक्रिया यसअघि नै सकिए पनि मधेश प्रदेशमा भने अधिवेशन हुन नसकेकाले प्रतिनिधि चयन प्रक्रिया अन्तिम समयमा पुगेको थियो। सोही कारण आइतबार बिहान मात्रै मधेश प्रदेशका प्रतिनिधिको सूची सार्वजनिक गरिएको थियो।
तर सूची सार्वजनिक भएसँगै त्यसविरुद्ध उजुरी परेपछि प्रतिनिधिको अन्तिम टुंगो लगाउन पार्टी नेतृत्वलाई सकस परेको स्रोतको दाबी छ। प्रतिनिधिको नामावलीमै विवाद उत्पन्न भएपछि बन्दसत्र सुरु गर्ने तयारी प्रभावित भएको हो।
प्रतिनिधि व्यवस्थापनमा ढिलाइ हुँदा अधिकांश प्रतिनिधिले अझै परिचयपत्र (कार्ड) समेत प्राप्त गर्न सकेका छैनन्। कार्ड वितरण हुन नसक्दा धेरै प्रतिनिधि बन्दसत्र सञ्चालन हुने हलभित्र प्रवेश गर्न नपाएको सहभागीहरूले बताएका छन्।
यता, पार्टीको व्यवस्था अनुसार सांसद तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेकाहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने अपेक्षा गरिए पनि केही सांसद र फागुन २१ को निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिहरूको नाम प्रतिनिधि सूचीमा नदेखिएपछि थप असन्तुष्टि उत्पन्न भएको छ। यसले प्रतिनिधि छनोट प्रक्रियामाथि नै प्रश्न उठाएको सहभागीहरूको भनाइ छ।
प्रतिनिधि विवाद र व्यवस्थापकीय अन्योलका कारण निर्धारित समयमै बन्दसत्र सुरु हुन नसकेपछि महाधिवेशनको कार्यतालिका प्रभावित हुने संकेत देखिएको छ। पार्टी नेतृत्व भने प्रतिनिधिसम्बन्धी सबै विवाद समाधान गरी बन्दसत्र चाँडै सुरु गर्ने तयारीमा रहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस