२०८३, आषाढ १० गते

बुधवार, आषाढ १० गते २०८३

रास्वपामा आज निर्वाचन : रवि निर्विरोध, ९९ केन्द्रीय सदस्य छनोटका लागि मतदान ,४ सय बढी उमेदवार

बुधवार , आषाढ १०, २०८३

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। सभापतिसहित केन्द्रीय समिति चयनको प्रक्रिया अन्तर्गत केन्द्रीय सदस्य पदमा आकांक्षीको संख्या बढी भएपछि मतदानमार्फत नेतृत्व टुंग्याउन लागिएको हो।

रास्वपाको संशोधित विधानअनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन हुनेछ। सभापति पदमा संस्थापक नेता रवि लामिछानेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भइसकेका छन्। तर केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने भएकाले मतदान गर्न लागिएको हो।

पार्टीले ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। विभिन्न क्लस्टर र खुला समूहमा उम्मेदवारी संख्या निर्धारित कोटाभन्दा बढी भएपछि प्रतिनिधिहरूले मतदानमार्फत सदस्य चयन गर्नेछन्।

केन्द्रीय समिति निर्वाचित भएपछि दोस्रो चरणमा पदाधिकारी चयन प्रक्रिया सुरु हुनेछ। सभापति बाहेक उपसभापति, महामन्त्री, सहमहामन्त्री, सचिव, कोषाध्यक्षलगायत पदाधिकारी पदका लागि निर्वाचित केन्द्रीय सदस्यहरूबीच प्रतिस्पर्धा हुनेछ। पदाधिकारी चयनमा पनि महाधिवेशन प्रतिनिधिहरूले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ।

निर्वाचन विद्युतीय मतदान प्रणालीमार्फत सञ्चालन गरिने निर्वाचन विभाग प्रमुख भुवन केसीले जानकारी दिएका छन्। उनका अनुसार मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र प्रारम्भिक नतिजा सार्वजनिक गर्न सकिने व्यवस्था मिलाइएको छ।

महाधिवेशनमा सहभागी हुन नसकेका तथा विदेशमा रहेका प्रतिनिधिहरूले भने मोबाइल एपमार्फत मतदान गर्न पाउने व्यवस्था गरिएको रास्वपाले जनाएको छ। प्रविधिमैत्री निर्वाचन प्रणाली प्रयोग गर्ने रास्वपाको यो पहिलो केन्द्रीय नेतृत्व चयन प्रक्रिया हो।

तीन दिनदेखि चितवनमा जारी महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशा र संगठनात्मक संरचनासमेत टुंगो लगाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट