२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट : आम्दानीसँगै नाफा उत्साहजनक

रेटिङमा ‘नेगेटिभ वाच’, विद्युत बक्यौता मुख्य चुनौती

बिहिवार , आषाढ ११, २०८३


काठमाडौं । नेपाली सिमेन्ट बजारको स्थापित ब्रान्ड मारुती सिमेन्ट्स लिमिटेड सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने अन्तिम तयारीमा जुटेको छ । शतप्रतिशत सेयर संस्थापक प्रर्वद्धकहरू (राठी र गोयल समूह) को हातमा रहेको यस कम्पनीले १ करोड १६ लाख कित्ता सेयर प्रति कित्ता ४२६ रुपैयाँको दरमा निष्काशन गर्दैछ ।  

आईपीओमार्फत कम्पनीले कुल ४ अर्ब ९४ करोड १६ लाख रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य राखेको छ । हाल ५ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ बराबरको ठूलो बैंक कर्जा सुविधा उपयोग गरिरहेको मारुतीले आईपीओबाट संकलित रकम मुख्यतः ऋणको भार कम गर्न र पूँजीगत संरचनालाई थप सन्तुलित बनाउन उपयोग गर्ने रणनीति लिएको छ ।

पछिल्लो समय कम्पनीको व्यावसायिक प्रदर्शन र वित्तीय सूचकहरूमा राम्रो सुधार देखिएको छ । आर्थिक वर्ष २०२३/२४ मा ४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ मात्र रहेको आम्दानी आव २०२४/२५ मा बढेर ५ अर्ब ९३ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

आम्दानीसँगै कम्पनीको खुद नाफामा पनि उल्लेख्य उछाल आएको छ । आव २०२३/२४ मा १७ करोड ९० लाख रुपैयाँ रहेको खुद नाफा गत आव २०२४/२५ मा ७० करोड २० लाख रुपैयाँ पुगेको छ । बिक्री परिमाणमा भएको वृद्धि र उत्पादन लागतमा आएको गिरावटले नाफा बढाउन मद्दत गरेको रेटिङ एजेन्सी केयर रेटिंग्सकाे प्रतिवेदनमा उल्लेख छ ।
चालू आर्थिक वर्षको ९ महिनामा मात्रै कम्पनीले ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ आम्दानी गरिसकेको छ भने ३१.१७ प्रतिशतको बलियो सञ्चालन नाफा दर कायम राख्न सफल भएको छ ।

मारुती सिमेन्टले हालैका वर्षहरूमा आफ्नो उत्पादन क्षमतामा भारी वृद्धि गरेको छ । कम्पनीले क्लिंकर उत्पादन क्षमता दैनिक १,५०० मेट्रिक टनबाट बढाएर ३,३०० मेट्रिक टन र सिमेन्ट ग्राइंडिङ क्षमता दैनिक २,००० मेट्रिक टनबाट ४,००० मेट्रिक टन पु-याएको छ । क्षमता विस्तारसँगै ओपिसीका साथै पिपिसी सिमेन्टको समेत उत्पादन सुरु भइसकेको छ ।

सिरहाको मिर्चैयामा उत्पादन प्लान्ट रहेको यस कम्पनीको उदयपुरको कटारीमा आफ्नै चुनढुङ्गा खानी छ । उक्त खानीमा करिब १४ करोड टन चुनढुङ्गाको निक्षेप रहेको अनुमान छ, जसले विस्तारित प्लान्टलाई ३ दशकभन्दा बढी समयसम्म कच्चा पदार्थ आपूर्ति गर्न पर्याप्त हुनेछ । आफ्नै पर्याप्त खानी भएका कारण मारुतीलाई बजारका अन्य स्थापित सिमेन्ट उद्योगहरूसँग प्रतिस्पर्धा गर्न लागतका हिसाबले ठूलो फाइदा मिलेको छ ।

सकारात्मक वित्तीय सूचक र बलियो उत्पादन क्षमताका बाबजुद मारुती सिमेन्टसामु केही गम्भीर चुनौती र जोखिमहरू पनि खडा भएका छन् । नेपाली सिमेन्ट बजारमा हाल माग सुस्त छ भने उद्योगहरू बीच तीव्र प्रतिस्पर्धा छ । यस्तो अवस्थामा नयाँ विस्तारित क्षमताको पूर्ण उपयोग गर्दै उत्पादित सिमेन्ट बजारमा खपत गराउनु कम्पनीका लागि मुख्य चुनौती देखिएको छ ।

कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई सन् २०१६ अगस्टदेखि २०१८ अप्रिलसम्मको अवधिको ५७ करोड ५० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । प्राधिकरणले बारम्बार ताकेता गरे पनि कम्पनीले रकम बुजाउनुको सट्टा कानुनी उपचार खोज्दै न्यायालयको ढोका ढकढक्याइरहेको छ । 

यही विद्युत बक्यौता र कानुनी विवादका कारण रेटिङ एजेन्सी केयर रेटिंग्स नेपालले यो कम्पनीलाई जोखिमरहित मान्न सकेको छैन । एजेन्सीले हालैको प्रतिवेदनमा कम्पनीको दीर्घकालीन र अल्पकालीन बैंक कर्जा सुविधाहरूलाई ‘क्रेडिट वाच विथ नेगेटिभ इप्लिकेसन्स’ (नकारात्मक संकेतसहितको निगरानी) मा राखेको छ ।

रेटिङ एजेन्सीका अनुसार यदि अदालतको फैसला नेपाल विद्युत प्राधिकरणको पक्षमा र कम्पनीको विपक्षमा आएमा, मारुती सिमेन्टले तत्काल ठूलो रकम भुक्तानी गर्नुपर्ने हुन्छ । यसले कम्पनीको वित्तीय संरचना, व्यावसायिक साख र तरलता मा गम्भीर नकारात्मक असर पार्न सक्ने प्रतिवेदनमा औंल्याइएको छ ।

उत्पादन क्षमता र नाफा बढाउँदै आईपीओको तयारी गरिरहेको मारुती सिमेन्ट्सका लागि आगामी दिनमा अदालती फैसला र बजारको सुस्त मागको व्यवस्थापन कसरी गर्छ भन्ने कुरा नै सर्वसाधारण लगानीकर्ताको आकर्षणको मुख्य कडी बन्नेछ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट