काठमाडौं । सहआयोजक क्यानडाले फिफा विश्वकप २०२६ मा इतिहास रच्दै पहिलोपटक प्रिक्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । अमेरिकाको लस एन्जलस रंगशालामा भएको रोमान्चक पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोल अन्तरले पराजित गर्दै क्यानडाले ऐतिहासिक यात्रा तय गरेको हो ।
खेलभरि दुवै टोलीबाट उत्कृष्ट प्रर्दशन भए पनि निर्धारित ९० मिनेटको समयसम्म खेल गोलरहित बराबरीमा रोकिएको थियो । तर, दोस्रो हाफको इन्जुरी समयमा क्यानडाका स्टेफेन युस्टाकियोले उत्कृष्ट गोल गर्दै टोलीलाई जित दिलाए । खेलभर बल पोजिसनमा दक्षिण अफ्रिका हाबी देखिए पनि पाएका अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा पराजय भोग्न बाध्य भयो । खेलको निर्णयक गोल गर्ने स्टेफेन नै प्लेयर अफ द म्याच घोषित भए ।
विश्वकपमा क्यानडाको यो तेस्रो सहभागिता हो । यसअघिका दुवै संस्करणमा क्यानडा समूह चरणबाटै बाहिरिएको थियो। यसपटक भने सहआयोजकको देशको रूपमा रहेको क्यानडाले नकआउट चरण पार गर्दै पहिलोपटक अन्तिम–१६ को यात्रा तय गरेर नयाँ इतिहास लेखेको छ । अर्कोतर्फ, पहिलोपटक प्रिक्वार्टरफाइनल पुग्ने दाउमा रहेको दक्षिण अफ्रिकाको विश्वकप यात्रा भने यही चरणमा सकिएको छ ।
समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको क्यानडाले अब क्वाटरफाइनल प्रवेशका लागि बलियो प्रतिद्वन्द्वीको सामना गर्नेछ । क्यानडाले प्रिक्वार्टरफाइनलमा मोरक्को र नेदरल्यान्ड्सबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने तय भएको छ ।
प्रतिक्रिया दिनुहोस