काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान सम्पन्न राउन्ड अफ ३२ को रोमाञ्चक खेलमा जर्मनीलाई सडन डेथमा पराजित गर्दै पाराग्वेले ऐतिहासिक जित दर्ता गरेको हो ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। रोमाञ्चक सडन डेथसम्म पुगेको सुटआउटमा पाराग्वेले ४–३ को जित निकाल्यो । पाराग्वेका लागि जोसे कानालेले निर्णायक पेनाल्टी गोल गर्दै टोलीलाई क्वार्टरफाइनलको दौडमा जीवित राखे ।
यस हारसँगै जर्मनीको एउटा ऐतिहासिक कीर्तिमान पनि भंग भएको छ । विश्वकप इतिहासमा जर्मनी पेनाल्टी सुटआउटमा पराजित भएको यो पहिलो पटक हो । यसअघि जर्मनीलाई पेनाल्टी सुटआउटमा अपराजेय टोलीका रूपमा हेरिन्थ्यो ।
यस जितसँगै पाराग्वेले २४ वर्षअघिको बदला समेत लिएको छ । सन् २००२ को विश्वकपको अन्तिम १६ मा पाराग्वे जर्मनीसँगै पराजित हुँदै बाहिरिएको थियो ।
सुरुआती पाँच–शटको पेनाल्टीमा दुवै टोली ३–३ को बराबरीमा थिए । पाराग्वेका तर्फबाट माउरिसियो, गोस्ताभो गोमेज र माथियास गालार्जाले गोल गरे भने जर्मनीका तर्फबाट कप्तान जोसुआ किम्मिच, जमाल मुसियाला र नादिएम अमिरीले गोल गरे ।
जर्मनीका काई हाभर्ट्ज र निक वोल्टेमाडेको प्रहारलाई पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले उत्कृष्ट बचाउ गरे । सडन डेथमा जर्मनीका जोनाथन ताहको प्रहार पोस्टमाथिबाट बाहिरिएपछि पाराग्वेका जोसे कानालेले गोल गर्दै टोलीको जित निश्चित गरे ।
त्यसअघि खेलको ४२औं मिनेटमा जुलियो इनसिसोले उत्कृष्ट गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ५४औं मिनेटमा जर्मनीका काई हाभर्ट्जले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
अतिरिक्त समयको १०२औं मिनेटमा जर्मनीका जोनाथन ताहले गोल गर्दै टोलीलाई जितको नजिक पुर्याएका थिए । तर, भिएआर जाँचपछि रेफ्रीले विपक्षी खेलाडीमाथि फाउल भएको ठहर गर्दै उक्त गोललाई मान्यता दिएनन्, जुन जर्मनीका लागि प्रत्युत्पादक बन्यो ।
सन् २०१४ मा विश्वकप उपाधि जितेयता जर्मनीले विश्वकपको नकआउट चरणमा कुनै पनि खेल जित्न सकेको छैन। पछिल्ला दुई संस्करण (२०१८ र २०२२) मा समूह चरणबाटै बाहिरिएको जर्मनी यसपटक १२ वर्षपछि नकआउटमा पुगे पनि पहिलो खेलमै हार बेहोर्दै बाहिरिन बाध्य भयो ।
यता पाराग्वेले विश्वकप इतिहासमा दोस्रो पटक मात्र नकआउट चरणको खेल जितेको हो । यसअघि सन् २०१० मा जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टरफाइनल पुगेको पाराग्वेले यसपटक पूर्वविश्वविजेता जर्मनीमाथि ऐतिहासिक जित निकाल्यो ।
अब पाराग्वेले अन्तिम १६ मा फ्रान्स र स्वीडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस