२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा कडा प्रतिस्पर्धा : बहालवाला निर्देशकदेखि पूर्व डीआईजी सर्टलिस्टमा

सोमवार , आषाढ २२, २०८३

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको नयाँ अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका नौ उम्मेदवारबीच प्रतिस्पर्धा रोचक बनेको छ।

प्राधिकरणभित्रकै बहालवाला अधिकारीदेखि नेपाल टेलिकमका पूर्वकर्मचारी, शैक्षिक क्षेत्रका प्राध्यापक र पूर्वप्रहरी अधिकारीसम्म अध्यक्षको दौडमा देखिएका छन्।

सर्टलिस्टमा परेका उम्मेदवारमा बहालवाला निर्देशक अर्जुन घिमिरे, नेपाल टेलिकमका पूर्वकर्मचारी अनन्तमान सिंह, अमलेन्दु नारायण सिंह, सनाउल्लाह खान र सुशीलप्रसाद साह, जनक शिक्षा सामग्री केन्द्रका पूर्वकार्यकारी प्रमुख अनिलकुमार झा, थापाथली इन्जिनियरिङ क्याम्पसका विभागीय प्रमुख जनार्दन भट्ट, नेपाल टेलिकमका नवौँ तहका इन्जिनियर मधुसुदन दाहाल तथा अवकाशप्राप्त डीआईजी एवं प्रस्तावित निर्वाचन आयुक्त राजीव सुव्बा रहेका छन्।

उम्मेदवारहरूको पृष्ठभूमि हेर्दा दूरसञ्चार क्षेत्रको प्रत्यक्ष अनुभव भएका व्यक्तिहरूको संख्या धेरै छ। विशेषगरी नेपाल टेलिकमसँग लामो समय आबद्ध रहेका चार पूर्वकर्मचारी र एक बहालवाला इन्जिनियरले प्राविधिक तथा सञ्चालन अनुभवका आधारमा दाबी प्रस्तुत गरेका छन्।

यसैगरी, प्राधिकरणभित्रै निर्देशकका रूपमा कार्यरत अर्जुन घिमिरेलाई संस्थागत निरन्तरता, नियामकीय अनुभव र प्राधिकरणको आन्तरिक कार्यप्रणालीबारे राम्रो जानकारी भएका उम्मेदवारका रूपमा हेरिएको छ। प्राधिकरणको नेतृत्वमा भित्रैबाट व्यक्ति आउने सम्भावना रहेमा घिमिरेलाई बलियो दाबेदार रहनेछन्।

थापाथली इन्जिनियरिङ क्याम्पसका विभागीय प्रमुख जनार्दन भट्टले शैक्षिक तथा प्राविधिक नेतृत्वको अनुभव बोकेका छन् भने पूर्वकार्यकारी प्रमुख अनिलकुमार झाले सार्वजनिक संस्थान सञ्चालनको अनुभवलाई आफ्नो बलका रूपमा प्रस्तुत गर्न सक्नेछन्।

अवकाशप्राप्त डीआईजी राजीव सुव्बाको नाम पनि सूचीमा रहेको छ। प्रशासनिक नेतृत्व र व्यवस्थापकीय अनुभव भए पनि दूरसञ्चार क्षेत्रको प्रत्यक्ष प्राविधिक पृष्ठभूमि नभएकाले उनी अन्य उम्मेदवारभन्दा फरक प्रोफाइलका रूपमा देखिएका छन्।

यद्यपि, अन्तिम निर्णय भने प्रस्तुतीकरण, अन्तर्वार्ता, कार्ययोजना र मन्त्रिपरिषद्को मूल्याङ्कनमा निर्भर रहनेछ। सर्टलिस्टमा परेका सबै उम्मेदवारले आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेपछि सिफारिस समितिले योग्य उम्मेदवारको नाम सरकारलाई सिफारिस गर्नेछ।

दूरसञ्चार क्षेत्र अहिले फाइभ–जी तयारी, डिजिटल पूर्वाधार विस्तार, स्पेक्ट्रम व्यवस्थापन, साइबर सुरक्षा तथा नियामकीय सुधारजस्ता चुनौती र अवसरको चरणमा रहेकाले नयाँ अध्यक्षले प्राधिकरणको भावी दिशा निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट