काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलका नेता भिष्मराज आङदेम्बेले गृहमन्त्री सुधन गुरुङमाथि भएको भनिएको छानबिनको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले गृहमन्त्रीमाथि गठित सम्पत्ति छानबिन समितिको प्रतिवेदनको अवस्था सार्वजनिक गर्न सरकारलाई चुनौती दिए। ‘गृहमन्त्रीमाथिको छानबिनको प्रतिवेदन कहाँ छ? त्यसले के निष्कर्ष निकाल्यो? कसलाई जिम्मेवार ठहर गरियो? कसलाई कारबाही भयो?’ भन्दै उनले प्रश्न उठाए।
आफ्नै मन्त्रीमाथिको छानबिन निष्कर्षमा पु-याउन नसक्ने सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा विश्वसनीय हुन नसक्ने उनको टिप्पणी थियो। ‘आफ्नै मन्त्रीको छानबिन गर्न नसक्ने सरकारले अरूमाथि छानबिन गरेर सुशासन कायम गर्छ भनेर कसरी पत्याउने?’ उनले भने।
आङदेम्बेले नेपाली कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण घटनाको निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको स्मरण गराउँदै सरकारले त्यसतर्फ कुनै पहल नगरेको आरोप लगाए। उनले सरकार सत्य बाहिर ल्याउनेभन्दा पनि लुकाउने प्रयासमा लागेको दाबी गरे।
त्यसैगरी उनले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनासम्बन्धी प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरे। मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने उनको भनाइ थियो।
‘भदौ २३ मात्रै देख्ने र २४ गतेको घटना नदेख्ने हुन सक्दैन। दुवै दिनका घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गरिनुपर्छ र दोषीलाई कारबाही गरिनुपर्छ,’ आङदेम्बेले भने।
प्रतिक्रिया दिनुहोस