काठमाडौं । तस्करी विरुद्ध गृहमन्त्री सुधन गुरुङले कडा एक्सन लिएका छन् । गृहमन्त्री सुधन गुरुङले हालै काँकडभिट्टा नाकाको स्थलगत निरीक्षणका क्रममा स्थानीयबाट तस्करीबारे गम्भीर गुनासो सुनेपछि तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।
झापाको काँकडभिट्टा नाकामा तस्करीमा सुरक्षाकर्मीको संलग्नता रहेको आरोपपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका ११ जना सुरक्षाकर्मी छानबिनको दायरामा परेका छन्। गृह मन्त्रालय स्रोतका अनुसार झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालमाथि पनि अनुसन्धान अघि बढाइएको छ।
उच्च स्रोतका अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईं र सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट काँकडभिट्टाका डीएसपी विकास थापा सहित नेपाल प्रहरीका पाँच र सशस्त्र प्रहरीका छ जना गरी ११ जना सुरक्षाकर्मी अनुसन्धानको दायरामा छन्। उनीहरूमाथि तस्करीमा सहयोग गरेको र आर्थिक लाभ लिएको आरोप लागेको छ।
घटनाको सुरुवात गृहमन्त्री गुरुङ भन्सार कार्यालयको निरीक्षणमा पुगेका बेला भएको थियो। सो क्रममा एक स्थानीय महिलाले सुरक्षाकर्मी र तस्करबीच मिलेमतो रहेको दाबी गर्दै भारतबाट अवैध सामान निर्बाध रूपमा नेपाल भित्रिने गरेको गुनासो गरेकी थिइन्। उनले रातिको समयमा विभिन्न नाकाबाट तस्करी हुने र त्यसका लागि ‘लाइन’ तथा असुलीको निश्चित व्यवस्था रहेको आरोपसमेत लगाएकी थिइन्।
सार्वजनिक रूपमा सबै विवरण भन्न अप्ठ्यारो हुने बताएपछि गृहमन्त्रीले ती महिलासँग भन्सार कार्यालयभित्र छुट्टै भेट गरी विस्तृत जानकारी लिएका थिए। महिलाबाट प्राप्त सूचना र प्रमाणका आधारमा गृहमन्त्रीले तत्काल डीएसपी चापागाईंको मोबाइल अनुसन्धानका लागि नियन्त्रणमा लिन निर्देशन दिएका थिए। उक्त मोबाइल फरेन्सिक परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।
यद्यपि डीएसपी चापागाईंले भने आफ्नो मोबाइल नियन्त्रणमा नलिइएको दाबी गरेका छन्। उनले गृहमन्त्रीले मोबाइल नियन्त्रणमा लिएको भन्ने कुरा गलत हल्ला भएको बताएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी विनोद घिमिरेले स्थलगत निरीक्षणका क्रममा प्राप्त गुनासा र सूचनाका आधारमा आन्तरिक छानबिन सुरु भएको पुष्टि गरेका छन्। उनका अनुसार अनुसन्धानबाट दोषी देखिने जोसुकैलाई कानुनअनुसार कारबाही गरिनेछ।
यसअघि पनि सशस्त्र प्रहरी मुख्यालयले कोशी प्रदेशमा तस्करी र अवैध असुलीमा संलग्न रहेको आरोपमा तीन जना सुरक्षाकर्मीलाई काठमाडौं झिकाएर अनुसन्धान गरिरहेको थियो। अनुसन्धानमा सशस्त्र प्रहरीका सई गणेश खड्का, हवल्दार हरि मगर र जवान पारस यादव रहेका छन्। गृहमन्त्रीको झापा भ्रमणपछि वरिष्ठ हवल्दार श्याम चौधरी र सहायक हवल्दार नारायण खनाललाई समेत मुख्यालय बोलाइएको छ।
जिल्ला प्रहरी कार्यालय झापाकी एसपी बसुन्धरा खड्काले पनि अनुगमनका क्रममा प्राप्त गुनासोलाई गम्भीर रूपमा लिएर आन्तरिक अनुसन्धान सुरु गरिएको बताएकी छन्।
प्रहरी स्रोतका अनुसार अनुसन्धानको क्रममा सम्बन्धित सुरक्षाकर्मीहरूको कल डिटेल रेकर्ड (सीडीआर) तथा आर्थिक कारोबारको समेत सूक्ष्म अध्ययन भइरहेको छ।
तस्करी समूहसँग नियमित सम्पर्क वा आर्थिक लेनदेन पुष्टि भए विभागीय तथा कानुनी कारबाही अघि बढाइने जनाइएको छ। खुला सीमाबाट तस्करी गरिएका गाईभैंसी नियन्त्रणमा लिएपछि रकम असुलेर पुनः सीमा कटाउन सहयोग गरिएको आरोप पनि अनुसन्धानको विषय बनेको छ। यसै प्रकरणमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको भूमिकामाथि समेत गृह मन्त्रालयले अनुसन्धान गरिरहेको स्रोतको दाबी छ।
प्रतिक्रिया दिनुहोस