काठमाडौं / काठमाडौं उपत्यकामा फेरि एकपटक खानेपानीको चरम संकट देखिएको छ । उपत्यकाको प्रमुख खानेपानी स्रोतका रूपमा रहेको मेलम्ची खानेपानी आयोजना मनसुनका कारण बन्द भएपछि हजारौं घरधुरीमा धाराबाट पानी आउन छाडेको छ। नियमित खानेपानी नपाएपछि उपभोक्ता निजी ट्यांकरको महँगो पानी किन्न बाध्य भएका छन् भने ट्यांकर व्यवसायीले मनपरी मूल्य असुलेको गुनासो पनि बढ्न थालेको छ ।
मेलम्ची खानेपानी विकास समितिले असार १९ गतेदेखि काठमाडौंतर्फ पानी पठाउन बन्द गरेको हो । मनसुन सक्रिय भएसँगै मेलम्ची नदीको मुहान क्षेत्रभन्दा माथिबाट आएको बाढी, पहिरो, गेग्रान र लेदोले अस्थायी ड्याम तथा सुरुङ प्रणालीमा क्षति पुग्ने जोखिम बढेपछि आयोजना अस्थायी रूपमा बन्द गरिएको हो । प्रत्येक वर्ष मनसुनको समयमा यस्तै जोखिमका कारण मेलम्चीको पानी केही समय रोक्ने गरिएको छ ।
मेलम्चीबाट दैनिक करिब १७ करोड लिटरभन्दा बढी पानी काठमाडौं ल्याइँदै आएको थियो । यही पानीले उपत्यकाको खानेपानी आपूर्तिमा उल्लेख्य राहत पुगेको थियो । तर आयोजना बन्द भएसँगै उपत्यकामा खानेपानी अभाव चुलिएको हो ।
‘मेलम्ची बन्द भएपछि अहिले उपलब्ध स्रोतबाट मात्रै पानी वितरण गरिरहेका छौं,बागमती स्रोतलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।,भूमिगत स्रोत (ग्राउन्ड वाटर) को उपयोग बढाएर पनि समस्या कम गर्ने प्रयास गरिरहेका छौं, तर केही समय यही अवस्थाको सामना गर्नुपर्ने देखिन्छ ।’
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार उपत्यकामा दैनिक करिब ४५ करोड लिटर खानेपानीको माग छ । तर हाल विभिन्न वैकल्पिक स्रोतबाट जम्मा २२ करोड लिटर मात्र पानी उपलब्ध भइरहेको छ । अर्थात् दैनिक झण्डै २३ करोड लिटर पानीको अभाव रहेको छ।
केयुकेएलका प्रवक्ता प्रकाश कुमार राई ले मनसुन अवधिभर खानेपानी व्यवस्थापन चुनौतीपूर्ण रहने स्वीकार गरे । उनका अनुसार केही समयसम्म उपभोक्ताले अहिलेको जस्तै समस्या झेल्नुपर्ने अवस्था देखिएको बताए ।
उनले भने, ‘मेलम्ची बन्द भएपछि अहिले उपलब्ध स्रोतबाट मात्रै पानी वितरण गरिरहेका छौं,बागमती स्रोतलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।,भूमिगत स्रोत (ग्राउन्ड वाटर) को उपयोग बढाएर पनि समस्या कम गर्ने प्रयास गरिरहेका छौं, तर केही समय यही अवस्थाको सामना गर्नुपर्ने देखिन्छ ।’
केयुकेएलले अहिले बीडीएस प्रणालीमार्फत खानेपानी आपूर्ति व्यवस्थापन गरिरहेको जनाएको छ। यो प्रणालीले सुन्दरीजलमा प्रशोधन गरिएको पानी ठूला ट्रान्समिसन पाइपमार्फत विभिन्न सेवा जलाशयसम्म पु¥याउने काम गर्छ । त्यसपछि सम्बन्धित वितरण केन्द्रमार्फत उपभोक्ताको धारामा पानी पठाइन्छ।
मेलम्ची सञ्चालन हुँदा यही प्रणालीबाट ठूलो परिमाणमा पानी वितरण हुने गरे पनि आयोजना बन्द भएपछि बीडीएसमार्फत आउने पानी पनि प्रभावित भएको छ ।सुन्दरीजलबाट मात्रै पाइपलाइन भर्न समय लाग्ने भएकाले नियमित वितरण तालिका प्रभावित भएको केयुकेएलले जनाएको छ ।
खानेपानी अभावसँगै निजी ट्यांकरको माग ह्वात्तै बढेको छ। उपभोक्ताका अनुसार मेलम्ची सञ्चालनमा रहँदा केही घटेको ट्यांकरको व्यवसाय अहिले फेरि बढेको छ । कतिपय स्थानमा ट्यांकर सञ्चालकले माग बढेको मौका पारेर मनपरी शुल्क असुल्न थालेको गुनासो उपभोक्ताले गरेका छन्। सामान्यतया ५ हजारदेखि १० हजार लिटर क्षमताको ट्यांकरको मूल्य क्षेत्रअनुसार फरक–फरक पर्ने भए पनि संकटका बेला मूल्य थप बढ्ने गरेको उपभोक्ताको भनाइ छ ।
विशेषज्ञहरूका अनुसार काठमाडौं उपत्यकाको खानेपानी संकटको मुख्य कारण तीव्र जनसंख्या वृद्धि, भू–जलमाथिको अत्यधिक निर्भरता, पुरानो वितरण प्रणालीबाट हुने चुहावट र सीमित सतही स्रोत हुन् । केयुकेएलकै तथ्यांकअनुसार वितरण प्रणालीमा करिब ३० प्रतिशतसम्म पानी चुहावट ( हुने अनुमान छ । जसका कारण उपलब्ध पानीको ठूलो हिस्सा उपभोक्तासम्म पुग्नुअघि नै नोक्सान हुने गरेको छ ।
हाल काठमाडौं उपत्यकामा करिब ८ लाखभन्दा बढी धारा जडान रहेका छन्। तर सबै उपभोक्ताले दैनिक पानी पाउने अवस्था छैन । अधिकांश क्षेत्रमा सातामा एक वा दुई पटक मात्रै पानी वितरण हुने गरेको छ भने मेलम्ची बन्द भएपछि त्यो तालिका समेत प्रभावित भएको छ ।
मनसुन सकिएपछि नदीको बहाव र पानीको गुणस्तर सामान्य बनेसँगै मेलम्ची आयोजना पुनः सञ्चालन गरिने तयारी रहेको केयुकेएल ले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस