काठमाडौं । बीमाको दाबी भुक्तानी तथा दायित्व निर्धारणका क्रममा हुने गरेका विकृति र अनियमितता रोक्न नियामक निकाय नेपाल बीमा प्राधिकरणले कडा कदम चालेको छ । प्राधिकरणले आज सोमबार एक सार्वजनिक सूचना जारी गर्दै कुनै पनि बीमा कम्पनी, तिनका कर्मचारी वा सर्भेयरले बदमासी गरेको भए प्रमाणसहित उजुरी दिन सर्वसाधारणलाई खुला आह्वान गरेको हो ।
केही बीमा कम्पनी र सर्भेयरहरूले प्रचलित कानुन, नियामकीय व्यवस्था र व्यावसायिक आचारसंहिता विपरीत काम गरिरहेको व्यापक गुनासो आएपछि प्राधिकरणले एक्सन लिने तयारी गरेको हो ।
प्राधिकरणका अनुसार बीमक, बीमकका कर्मचारी, बीमा सर्भेयर वा अन्य कुनै पक्षले दाबी प्रक्रियामा ग्राहकलाई दुःख दिएको, गलत विवरण तयार गरेको, तथ्य लुकाएको वा तोडमोड गरेको पाइएमा कारबाही प्रक्रिया अघि बढाइनेछ । त्यस्तै, पक्षपातपूर्ण मूल्याङ्कन गरेको, अनुचित लाभ लिएको वा अन्य कानुनविपरीत कार्य गरेको पाइएमा सम्बन्धित व्यक्ति र संस्थाविरुद्ध बीमा ऐन, २०७९ बमोजिम कडा कानुनी कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ ।
उजुरी दिँदा उजुरीकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरसहित सम्बन्धित बीमा कम्पनीको नाम, समस्याको विवरण, बीमा दाबी नम्बर, बीमालेख नम्बर खुलाउनुपर्नेछ । यसका साथै दाबी पुष्टि गर्ने कागजात, फोटो, भिडियो वा अन्य प्रमाण संलग्न गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
सर्वसाधारणले ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयको दर्ता शाखामा प्रत्यक्ष उपस्थित भएर, इमेलमार्फत वा हुलाकमार्फत आफ्नो उजुरी पेश गर्न सक्नेछन् । प्राधिकरणले प्राप्त उजुरी र प्रमाणको पूर्ण गोपनीयता कायम राख्दै तत्काल अनुसन्धान र आवश्यक कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस