काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०२८ को टी–२० विश्वकपको नयाँ छनोट प्रणाली सार्वजनिक गरेको छ ।
नयाँ व्यवस्थाअनुसार नेपालले एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने छैन र सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ ।
सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः २०२८ विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरूलाई सिधै ग्लोबल छनोटमा राखिने आईसीसीले जनाएको छ । नेपाल २०२६ विश्वकपको समूह चरणबाट बाहिरिएकाले यो अवसर पाएको हो ।
ग्लोबल छनोटमा १६ टोली रहनेछन् । यसमा अघिल्लो विश्वकपबाट स्वतः छनोट हुन नसकेका ८ टोली र क्षेत्रीय छनोटबाट आउने ८ टोली सहभागी हुनेछन् ।
क्षेत्रीय छनोटमार्फत अफ्रिका, एसिया र युरोपबाट दुई–दुई तथा अमेरिका र पूर्वी एसिया–प्रशान्तबाट एक–एक टोली ग्लोबल छनोटमा पुग्नेछन् ।
ग्लोबल छनोटपछि प्रत्येक क्षेत्रका उत्कृष्ट एक–एक टोलीसहित समग्रमा उत्कृष्ट तीन टोली गरी सात टोलीले सन् २०२८ को टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।
प्रतिक्रिया दिनुहोस