२०८३, आषाढ ३१ गते

बुधवार, आषाढ ३१ गते २०८३

फ्रान्सलाई स्तब्ध पार्दै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं । स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई २–० ले पराजित गर्दै स्पेनले उपाधि भिडन्तका लागि आफ्नो स्थान सुरक्षित गरेको हो ।

सन् २०१० को विश्वविजेता स्पेन ठ्याक्कै १६ वर्षपछि पहिलोपटक विश्वकपको फाइनलमा पुग्न सफल भएको हो । अर्कोतर्फ, लगातार तेस्रोपटक विश्वकपको फाइनल पुग्ने लक्ष्यमा रहेको फ्रान्सको सपनामा भने पूर्णविराम लागेको छ ।

खेलको सुरुदेखि नै आक्रामक रणनीति अपनाएको स्पेनले पहिलो हाफमै अग्रता लिएको थियो । खेलको २२औँ मिनेटमा स्पेनका युवा स्टार लामिन यामलमाथि फ्रान्सका लुकास डिनले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो । उक्त अवसरलाई मिकेल ओयार्जाबालले सहजै गोलमा परिणत गर्दै टोलीलाई १–० को सुरुवाती अग्रता दिलाए ।

दोस्रो हाफमा पनि स्पेनले आफ्नो दबाब कायम राख्यो । खेलको ५८औँ मिनेटमा डानी ओल्मोको उत्कृष्ट पासमा पेड्रो पोरोले आकर्षक गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए ।

दुई गोलले पछि परेको फ्रान्सले खेलमा फर्कनका लागि दोस्रो हाफमा डेसिरे डोए र रायन चेर्कीलाई मैदानमा उतारेको थियो । फ्रान्सले केही राम्रा अवसर सिर्जना गरे पनि स्पेनको मजबुत रक्षापंक्ति तोड्न सकेन । स्पेनका गोलकिपर उनाई सिमोन र डिफेन्डर मार्क कुकुरेलाले उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सेली फरवार्डहरूलाई रोकेका थिए । फ्रान्सले खेलभरि केवल दुई पटक मात्र लक्ष्यमा (अन टार्गेट) प्रहार गर्न सक्यो ।

अब स्पेनले विश्वकपको ऐतिहासिक उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट