२०८३, आषाढ ३१ गते

बुधवार, आषाढ ३१ गते २०८३

सुदूरपश्चिममा बजेट विवाद उत्कर्षमा : मुख्यमन्त्री शाहले एमालेका चारै मन्त्री बर्खास्त गरे

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बजेटलाई लिएर सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच बढेको विवाद अन्ततः सरकार पुनर्गठनसम्म पुगेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी एमालेका चारै जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री शाहले भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउदलाई बर्खास्त गरेका हुन् ।

आर्थिक वर्ष २०८३÷८४ को बजेटलाई लिएर सत्ता साझेदार कांग्रेस र एमालेबीच लामो समयदेखि विवाद चल्दै आएको थियो । असार १ गते कांग्रेस नेतृत्वको प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेटप्रति एमालेले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएको थियो ।

सरकारमै सहभागी एमालेका सांसदहरूले बजेटको विरोध गर्दै प्रदेश सभा सचिवालयमा खर्च कटौतीको प्रस्तावसमेत दर्ता गरेपछि दुई दलबीचको विवाद थप चुलिएको थियो । प्रतिपक्षी नेकपाले समेत बजेटमा खर्च कटौतीको प्रस्ताव दर्ता गरेको छ ।

सरकारमा बसेर आफ्नै सरकारले ल्याएको बजेटविरुद्ध प्रस्ताव दर्ता गरेको भन्दै मुख्यमन्त्री शाह एमालेसँग असन्तुष्ट थिए । उनले एमालेका मन्त्रीहरूलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सामूहिक रूपमा बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा मागेका थिए ।
सो क्रममा शाहले सरकारमै बसेर बजेटको विरोध गर्नु उपयुक्त नहुने भन्दै एमालेसामु तीन विकल्प राखेका थिए । बजेट पारित गर्न सहयोग गर्ने, सरकारबाट बाहिरिने वा सरकारलाई दिएको समर्थन फिर्ता लिनेमध्ये तत्काल एउटा विकल्प रोज्न उनले आग्रह गरेका थिए ।

मुख्यमन्त्री शाहले एमाले सांसदहरूले दर्ता गरेको खर्च कटौतीको प्रस्ताव फिर्ता लिनसमेत आग्रह गरेका थिए । तर एमाले त्यसका लागि तयार भएन ।

विवाद समाधानका लागि बजेट संशोधन गर्ने विषयमा समेत छलफल भएको थियो । स्रोतका अनुसार कांग्रेस, एमाले र नेकपाका प्रतिनिधि सम्मिलित कार्यदल बनाएर बजेटमा देखिएका असन्तुष्टि सम्बोधन गर्ने प्रयास गरिएको थियो ।
तर एमालेले बजेट पुनर्लेखन गर्नुपर्ने, पेश्की बजेट ल्याउनुपर्ने र प्रदेश सरकारको नेतृत्वसमेत परिवर्तन गर्नुपर्ने प्रस्ताव अघि सारेपछि सहमतिको प्रयास विफल भएको थियो ।

असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने संवैधानिक तथा कानुनी दबाबमा रहेका मुख्यमन्त्री शाह सत्ता साझेदार एमालेकै असहयोगका कारण अप्ठ्यारोमा परेका थिए । बजेट पारित गर्न एमालेले साथ दिने वा नदिने विषयमा तत्काल निर्णय दिन शाहले आग्रह गरेपछि एमाले नेताहरू आन्तरिक छलफलमा जुटेका थिए ।

यता एमालेको साथ नपाए कसरी अघि बढ्ने भन्ने विषयमा मुख्यमन्त्री शाहले पनि आन्तरिक छलफल तीव्र बनाएका थिए । एमालेबाट बजेट पारित गर्न सहयोग नहुने सूचना पाएपछि शाहले सरकारमा सहभागी एमालेका चारै जना मन्त्रीलाई बर्खास्त गरेका हुन् ।


एमालेका मन्त्रीहरूको बर्खास्तीसँगै सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणसमेत नयाँ मोडमा पुगेको छ । बजेट विवादकै बीच एमाले र नेकपाबीच सत्ता सहकार्यको सम्भावनाबारे छलफल सुरु भएको बताइएको छ । यद्यपि दुवै पार्टीभित्र कांग्रेसलाई समेत समेटेर अघि बढ्नुपर्ने आवाज पनि उठिरहेको छ ।

मुख्यमन्त्री शाह प्रदेशको विवाद मिलाउन राजधानी आएर कांग्रेस पार्टी सभापति गगन थापा लगायतका नेताहरुसँग भेटघाट गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर समस्या समाधान गर्न आग्रह गर्न खोजेपनि ओलीले समय नदिएपछि उनी फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट