काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर आपत्ति जनाएको छ।
रास्वपा महामन्त्री विपीन आचार्यले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाब तथा त्रासमा राख्ने उद्देश्यले यस्ता गतिविधि गरिएको भए त्यो लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन हुने उल्लेख छ।
‘राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताका ठाडो उल्लंघन हुन्,’ विज्ञप्तिमा भनिएको छ।
रास्वपाले सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने र प्रेसलाई संकुचित पार्न खोज्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ। स्वतन्त्र र भयरहित पत्रकारितालाई ‘लोकतन्त्रको प्राणवायु’ भन्दै पार्टीले प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित जुनसुकै कदमको भत्र्सना गरेको छ।
रास्वपाले शंकास्पद सवारीसाधन राखिएका घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ । घटनामा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्न तथा सञ्चारमाध्यमको भौतिक र मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्नसमेत पार्टीले आग्रह गरेको छ । महामन्त्री आचार्यले सञ्चारकर्मी तथा सञ्चारगृहलाई कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको व्यावसायिक धर्म निर्वाह गर्न अपिल गरेका छन् । रास्वपाले सञ्चारकर्मीको सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा पार्टी सदैव दृढतापूर्वक उभिने प्रतिबद्धतासमेत जनाएको छ।
प्रतिक्रिया दिनुहोस