२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

वर्षा र पहिरोको वितण्डा: काठमाडौंबाट बाहिरिने सबै प्रमुख नाका बन्द, लामो दूरीका सवारी ठप्प

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । अविरल वर्षा र त्यसका कारण बढेको पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकाहरूमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सुरक्षा जोखिमलाई ध्यानमा राख्दै प्रहरीले लामो दूरीका सवारीसाधनहरूलाई विभिन्न बसपार्क तथा होल्डिङ सेन्टरहरूमा नै रोकेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरू नागढुंगा, साँगा र फर्पिङ हुँदै गुड्ने लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । हिजो रातिदेखि नै रात्रिकालीन सवारी सञ्चालन बन्द गरिएकोमा, स्थिति थप प्रतिकूल बनेपछि आज बिहानदेखि दिवाकालीन सवारीसाधनलाई समेत सञ्चालन अनुमति दिइएको छैन ।

नागढुंगा–मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको केराबारी र तुइनखोला क्षेत्रमा ठूलो पहिरो खसेका कारण यो सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यसअघि नै जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन खण्डमा सवारी चलाउन रोक लगाइसकेको थियो ।

यस्तै बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा पानीको बहाव बढेको र मंगलटार क्षेत्रमा लेदोसहितको पहिरो बगेका कारण यो मार्ग पनि ठप्प बनेको छ । फर्पिङ–फाखेल–सिस्नेरी सडकखण्ड बन्द गरिएको छ भने कान्ति लोकपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।

प्रहरीले निरन्तरको वर्षाका कारण सडकको अवस्था निकै दयनीय र जोखिमपूर्ण भएकाले यात्रु र सवारीसाधनको सुरक्षाका लागि यो अस्थायी कदम चालिएको जनाएको छ । अहिले विभिन्न राजमार्गमा खसेको पहिरो पन्छाउने प्रयास भइरहे पनि निरन्तरको वर्षाले अवरोध सिर्जना गरिरहेको छ । सडकको अवस्था र जोखिमको विस्तृत विश्लेषण गरेपछि मात्र सवारी साधन सञ्चालन गर्न दिने वा नदिनेबारे थप निर्णय लिइने ट्राफिक प्रहरीले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट