काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनोमिक्स एन्ड फाइनान्स’ मा खुलमखुला गभर्नरलाई गाली गरेका अर्थमन्त्री जनार्दन शर्माले कार्यक्रमबाट फर्केलगत्तै गभर्नरलाई निलम्बन गरेका छन् ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको दाबी गरिए तापनि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रेस ब्रिफिङमा त्यस विषयमा उल्लेख छैन । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको स्रोतको भनाइ छ । शुक्रबार उनलाई निलम्बन गरिएको हो ।
उनीमाथि लागेको आरोपमा छानबिन गर्न नेपाल राष्ट्र बैंक ऐनकाअनुसार पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य रहेको समिति गठन गरिएको बताइएको छ ।
छानबिनका लागि समिति गठन भएसँगै स्वतः निलम्बन हुने व्यवस्थाअनुसार अधिकार निलम्बनमा परेका हुन् । बिहीबार नै मन्त्रिपरिषद्को बैठकले छानबिन समिति गठन गरेको भए अर्थमन्त्रीले शुक्रबारको कार्यक्रममा गभर्नरलाई किन बस्न दिए भने प्रश्न उब्जिएको छ ।
अर्थविद् तथा पूर्व अर्थसचिव रामेश्वर खनालले अर्थतन्त्रलाई मिलेर मजबुत गर्नुपर्ने समयमा निलम्बन गरेर राष्ट्रलाई समस्यामा पार्ने काम सरकारबाट भएको टिप्पणी गरे । उनले भने, ‘अर्थमन्त्रीलाई गभर्नर निलम्बन गर्ने अधिकार हुँदैन र मन्त्रिपरिषद्ले गरेको भए किन सार्वजनिक गरिएन ?’ यो समाचार आजको राजधानी दैनिकमा छ ।