logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अबिच्युरी : ‘लिजेन्ड’ श्यामबहादुर पाण्डे, जसले बनाए साँग्रिला होटल साम्राज्य

    अबिच्युरी : ‘लिजेन्ड’ श्यामबहादुर पाण्डे, जसले बनाए साँग्रिला होटल साम्राज्य

    966
    Shares
    अबिच्युरी : ‘लिजेन्ड’ श्यामबहादुर पाण्डे, जसले बनाए साँग्रिला होटल साम्राज्य

    काठमाडौं । संयोग नि कस्तो ! राजधानीको द्धारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको एक साता नपुग्दै अर्का पर्यटन व्यवसायी तथा साँग्रिला होटल ग्रुपका संस्थापक अध्यक्ष श्यामबहादुर पाण्डेको ८८ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ ।

    स्वर्गीय पाण्डेले साँग्रिला हस्पिटालिटी ग्रुपमार्फत राजधानी, पोखरा र चितवनमा तारेस्तरका होटल सञ्चालन गरेका छन् । संस्थापक अध्यक्ष पाण्डे होटल संघ नेपालका पूर्वअध्यक्ष पनि हुन् । स्वर्गीय पाण्डेका दुई छोरा प्रसिद्धबहादुर पाण्डे र प्रवीणबहादुर पाण्डे र एक छोरी छन् ।

    लामो समयदेखि अस्वस्थ रहेका पाण्डेलाई केही दिन अगाडि ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान दिएका पाण्डेले काठमाडौंसहित पोखरा र चितवनमा पनि पाँचतारे होटल स्थापना गरेर पर्यटकहरुलाई सेवा पुर्याइरहेका थिए । उनले राजधानीको लाजिम्पाटमा रहेको साँग्रिला होटलको पुनर्निमाण गरिरहेका थिए । होटल उद्योगको विकास र उन्नतिका लागि काम गरेका पाण्डे ६ दशकभन्दा बढी समय यही व्यवसायमा सक्रिय थिए । चार दशकअघि होटल सांग्रिला स्थापना गरेका पाण्डे होटल उद्योगका ‘लिजेन्ड’ मानिन्छन् ।

    सन् १९३६ मा अक्टुबर १२ मा काठमाडौंको लाजिम्पाटमा जन्मिएका पाण्डेको पारिवारिक पृष्ठभूमि व्यापार–व्यवसाय थिएन । उनले शुरूवाती समयमा निजामती सेवालाई आफ्नो कर्म बनाएका थिए । शाखा अधिकृत जागिरबाट अवकाश लिएपछि उनले पर्यटन क्षेत्रमा केही गर्ने योजना बनाए । सन् १९६० मा निजामति सेवाबाट अवकाश लिएपछि व्यवसायमा लागेका पाण्डेले चीनतर्फ चामल र जुट निर्यात गर्न शुरू गरेका थिए । निर्यात व्यवसाय राम्रो चले पनि उनको भित्रदेखि चित्त बुझिरहेको थिएन । केही गरौं भन्ने हुटहुटी उनमा थियो । त्यसैले एउटा यस्तो सपना थियो, जसले उनलाई झकझकाइ रह्यो । र, उनी सफल पर्यटन व्यवसायी बन्न पुगे ।

    स्वर्गीय पाण्डेलाई झकझकाउने सपनाभित्रको लाजिम्पाट रहेको आफ्नो जग्गामा होटेल बनाउने परिकल्पना थियो । त्यो योजना कार्यान्वयनका लागि उनी जुटे र त्यसका लागि जोखिम उठाउने अठोट उनले गरे । त्यसपछि स्थापना भयो चारतारे सांग्रिला होटेल । साँग्रिला पछि पाँचतारे होटलमा स्तरोन्नती भएको हो । उनका लागि साँग्रिला होटलमा ठूलो लगानी गर्नु जोखिम थियो । तर, उनी जोखिम लिनबाट डगमगाएनन्, परम्परागत सोचभन्दा माथि उठेर पाण्डेले जोखिम वहन गर्ने एउटा अठोट लिए । त्यही उनको अठोटले आज नेपालको पर्यटन क्षेत्रमा नयाँ उचाइ थपिदिएका छ ।

    पाण्डेले होटल खोल्ने योजनालाई काठमाडौंमा मात्र राखेनन् । उनले पर्यटकीय राजधानी पोखरामा होटल खोल्न सफल भएका थिए । उनले काठमाडौँमा चारतारे होटल सांग्रिलाबाट सुरु गरेको यात्रा पाँच तारेमा स्तरोन्नति हुँदै पोखराको घरिपाटनस्थित सांग्रिला होटल भिलेज रिसोर्टसम्म पुगेको छ । उनले पोखराको बेगनासमा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउन लागेका थिए । १ अर्ब ४९ करोड ५० लाख रुपैयाँ लगानीमा लस्ट होराइजन प्रालि रिसोर्ट आगामी सन् २०२६ डिसेम्बरभित्र सञ्चालनमा ल्याउने तयारी उनको थियो ।

    यस्तै साँग्रिला हस्पिटालिटी ग्रुपले चितवनको मेघौलीमा लक्जरी रिसोर्ट सञ्चालन गर्ने भएको छ । ग्रुपले लस्ट होराइजन सफारी रिसोर्ट एन्ड स्पा निर्माण गरिरहेको छ । रिसोर्टको दोस्रो फेज सन् २०२६ डिसेम्बरसम्म सञ्चालनमा ल्याउने योजना छ । रिसोर्ट ४० कोठाको हुनेछ । जसमध्ये दुई स्वीट रुम हुने लस्ट होराइजनले जनाएको छ ।

    लस्ट होराइजनको अनुमानित लागत १ अर्ब २९ करोड ५० लाख रुपैयाँ रहेको छ । यस्तै पोखराको साँग्रिला भिलेजको १ अर्ब १९ करोड रुपैयाँ खर्चेर रिनोभेसनको काम भइरहेको छ । श्यामबहादुर पाण्डेले हालेको जगलाई बिस्तार गर्ने काम छोरा प्रसिद्ध र प्रवीणले गर्दै आएका छन् । उनीहरुले पनि लगानी विस्तार गरिरहेका छन् ।

    जागिर छोडेर व्यवसाय

    अवकाशपछिको जीवनलाई थप उपलब्धिमूलक बनाउन सकिन्छ भन्ने कुराको प्रमाणित व्यवसायी पाण्डेले गरे । आफूमात्रै नभई समाज र देशका लागि पनि केही गर्नुपर्छ भन्ने सोचले नै उनलाई पर्यटन व्यवसायमा पुर्याएको हो ।

    २०१५ सालतिर उनी गृह मन्त्रालयमा अधिकृत थिए । जागिरको क्रममा उनी किमाथान्का पोस्टमा परिचालित भएका थिए । पछि सरकारले विकट क्षेत्र कर्णाली खटाएपछि पाण्डेले जागिर छाडे ।
    त्यसबेला विदेशी पाहुनालाई राख्ने समस्या मात्र नभएर टेन्डरका सूचना विदेश पठाउन पनि टेलेक्स चाहिन्थ्यो । त्यस्तो सुुविधा तारे होटलमा मात्र हुन्थ्यो । सोल्टी र अन्नपूर्णबाट त्यस्ता सूचना र टेलेक्स पठाउन होटलका कर्मचारीको निकै चाकडी गर्नुपथ्र्यो ।

    होटलमा पाहुना राख्ने हैरानी र सूचना पठाउने सास्तीका बीच पाण्डे आफू पनि त्यही क्षेत्रमा लाग्ने योजनामा जुट्न पुगे । पञ्चायत कालमा कम्पनी खोल्न सहज थिएन । किनभने त्यसबेला होटल व्यवसायमा दरबारियाहरूको बोलबोला भएकाले जो कोही लगानी गर्न हिचकिच्याउँथे । राजा वीरेन्द्रको राज्यभिषेकको उत्सवमा नयाँ होटल खोल्न लाइसेन्स दिने सरकारको नीति आयो । त्यसैबेला श्यामबहादुरले मौकामा चौका हन्न पुगे । उनले होटलका लागि लाइसेन्स लिन निवेदन दिएका थिए । सांग्रिलालगायत एक दर्जन होटलले त्यसैबेला स्वीकृति पाएका हुन् ।

    पाण्डेले तत्कालिन नेपाल औद्योगिक विकास निगम (एनआइडिसी) (राष्ट्रिय वाणिज्य बैंकमा समाहित) बाट ऋण लिएर ५० कोठाको होटल सुरु गरेका थिए । पछि त होटलका कोठाहरु भरिभराउ नै हुन थाल्यो ।

    राजधानी केन्द्रित पर्यटन व्यवसायले मुलुकले आर्थिक रुपमा फड्को मार्न नसक्ने निष्कर्षसहित पोखरामा पनि सांग्रिला भिलेज होटल उनले बिस्तार गर्न पुगे ।

    नेपालमा हिमाल, तराई, पहाड लगायतको प्राकृतिक विविधता भएकाले नै पर्यटनको सम्भावना प्रचुर भएको उनको बुझाइ थियो । निजामती सेवा छोडेर सफल होटल व्यवसायी स्वर्गीय पाण्डे मुलुकमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न तारे होटेल तथा रिसोर्टहरुको सञ्चालन गरी अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा विशेष योगदान गरे वापत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक तथा सम्मानहरु उनले प्राप्त गरेका थिए ।

    होटल संघ नेपालबाट दुःख व्यक्त

    होटल संघ नेपाललका अविभावक तथा पूर्वअध्यक्ष श्याम बहादुर पाण्डेको निधनप्रति होटल संघ नेपालबाट दुःख व्यक्त गरेको छ । होटल संघ नेपालका पूर्वअध्यक्ष सांग्रिला होटलका संस्थापक तथा नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व पाण्डेको असामयिक निधनप्रति होटल संघ नेपालले गहिरो दुःख प्रकट गर्दै स्वर्गिय पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

    पाण्डेको निधनबाट देशले पर्यटन विकासको अविभावक तथा सच्चा पर्यटन व्यवसायी गुमाएको होटल संघ नेपालले जनाएको छ । स्वर्गीय पूर्वअध्यक्ष पाण्डेलाई होटल संघ नेपालले ह्यान हल अफ फेम सम्मानबाट २०२४ मा विभूषित गरेको थियो ।

    यो पनि पढ्नुहोस् :

    साँग्रिला होटल ग्रुपका संस्थापक श्यामबहादुर पाण्डेको निधन

    सवा अर्ब लगानीमा साँग्रिला भिलेज पोखराको पुनर्निमाण, ‘होटल इन्डिगो’ ब्राण्डमा सञ्चालन हुने

    साँग्रिलाले १.३० अर्ब लगानीमा चितवनको मेघौलीमा रिसोर्ट बनाउँदै, व्यवस्थापन इन्टरकन्टिनेन्टलले गर्ने

    डेढ अर्ब लगानीमा पोखरामा ‘लक्जरी रिसोर्ट’ ल्याउँदै सांग्रिला हस्पिटालिटी ग्रुप

     

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend