लुम्बिनी । गत साउनको दोस्रो साता भारतको राजधानी नयाँ दिल्लीमा युनेस्को वल्र्ड हेरिटेज कमिटीको ४६ औँ सेसन चलिरहेको थियो । विषय थियो, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई यूनेस्कोको खतराको सूचीमा राख्ने कि नराख्ने ? सेसन सुरु हुनुभन्दा केही महिना अघिदेखि नै खतराको सूचीबाट जोगाउन लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामा (खेन्पो छिमे) व्यापकरुपमा राजनीतिक र कूटनीतिकरुपमा पहल सुरु गरिसकेका थिए ।
सेसनमा यसबारे एक घण्टाभन्दा बढी समय बहस भयो । अन्ततः डा. लामाको पहलले सकारात्मक नतिजा निकाल्यो । लुम्बिनी तत्कालका लागि खतराको सूचीमा पर्नबाट जोगियो ।
‘सो सम्बन्धमा केही कुराहरु पालना गर्न सकिने खालका छन् । सुझावअनुसारका केही काम भइ पनि सकेका छन् । तर जुन ढंगले लुम्बिनी जस्तो पवित्र स्थललाई खतराको सूचीमा राख्ने प्रयास भएको थियो, त्यो उचित थिएन । त्यसैले नतिजा हाम्रै पक्षमा आयो’, डा. लामाले सुनौलो नेपालसँग भने । लुम्बिनीलाई खतराको सूचीमा पर्नबाट जोगाउन उपाध्यक्ष डा लामाले गरेको प्रयासको अहिले सबैतर्फबाट प्रशंसा भइरहेको छ ।
लामाका अनुसार खतराको सूचीमा राख्न तीन वटा कारण बताइएको थियो । पहिलो मायादेवी मन्दिरमा पानी चुहिने समस्या, दोस्रो एतिहासिक अशोक स्तम्भ नजिकै दियो जलाउँदा पारेको असर र तेस्रो अन्तर्राष्ट्रिय सभाहल निर्माण । लामाका अनुसार अशोक स्तम्भ नजिकै दियो बाल्ने समस्या अहिले छैन । गत फागनुमै दियो सेड स्तम्भभन्दा तीन सय मिटरको दूरीमा बाहिर ल्याइएको छ । बाँकी दुई वटा कारणमा भने केही समस्या छ ।
‘एउटा समस्या समाधान भइसकेको छ, त्यसबाहेकको मायादेवी मन्दिरमा पानी चुहिने समस्या लामो समयदेखिकै हो । तीनपटक मर्मत पनि भइसकेको छ तर यो समस्या सहजै समाधान हुने खालको छैन’, लामाले भने, ‘कोषले दुई पटक मर्मत गर्दा पनि समस्या नभएपछि पुरातात्विक विभागले आफैले गर्ने भनेको थियो । उसले गर्दा पनि अहिले सात ठाउँबाट पानी चुहिने समस्या छ ।’ लामाका अनुसार यो विगत लामो समयदेखिको समस्या हो ।
उनका अनुसार पानी चुहिने समस्या नयाँ होइन । ३० वर्ष अगाडिदेखि कै हो । मायादेवी मन्दिरलाई जोगाउन पाँच सय मेट्रिक टनको फलाम राखिएको छ । त्यसलाई जोड्न सुरुमा पेचको साहरा लिइएको थियो भने पछि वेल्डिङ नै गरिएको रहेछ । पछि मर्मतका क्रममा ढलान गर्दा फलाम बाङगो हुन थालेपछि थप समस्या भएको रहेछ । मन्दिरभित्र एउटा पनि पिल्लर छैन ।
‘कोष र पुरातात्विक विभागले मर्मत गर्दा पनि समस्या समाधान भएको छैन । अब यसको विकल्प सेल्टर बनाएर मन्दिर छोप्नु नै हो । तर त्यतिले मात्रै पुग्दैन । यहाँ जमिन मुनीबाट पनि पानी रसाउने समस्या छ । आसपासमा पाँच वटा इनार छन् । वर्खामा पानी निकालेर फाल्नुपर्ने अवस्था छ’, उनले भने ।
तेस्रो कारण, अन्तर्राष्ट्रिय सभाहल हो । सरकारले डेढ अर्ब रुपैयाँ खर्चेर आठ हजार भक्तजन अट्ने क्षमताको सभा हल निर्माण गरेको छ । यो विशुद्ध लुम्बिनीको हितमा निर्माण गरिएको हो । यो आवश्यक छैन भन्ने भनाइ तर्क संगत नदेखिएको लामाको बुझाइ छ । केही समयअघि मात्रै सभा हलमा छ हजारभन्दा बढीले मेडिटेसन गरेका थिए ।
लुम्बिनीलाई खतराको सूचीमा पर्न नदिन भारतले गरेको सहयोगको उनले मुक्त कण्ठाले प्रशंसा समेत गर्छन् । २१ देशमध्ये भारतले सबैभन्दा ठूलो सहयोग गर्यो । उसैले केही कमी कमजोरी सुधारका लागि केही समय दिनुपर्छ भन्ने प्रस्तावमा सुरुमा लेवनान र बेल्जियमबाहेकका सबै देशले समर्थन जनाएका थिए । यद्यपि अन्तिममा सबैको सहमति भयो । यसका लागि लामाले विभिन्न राजदूतावासलगायत कुटनीतिक रुपमा गरेको पहल निकै ठूलो थियो ।
निस्वार्थ सेवाभाव
उपाध्यक्ष डा. लामा आफू लुम्बिनीमा विशुद्ध सेवाको भावले आएको बताउँछन् । उनले बस्नका लागि भवन र पुरानो गाडीबाहेक कुनै पनि सेवा र सुविधा लिएका छैनन् । लुम्बिनीलाई कसरी अन्तर्राष्ट्रिय स्तरमा विकास गर्ने, पर्यटक कसरी बढाउनेलगायत यसको संरक्षण, सम्बद्र्धन, विकास र हितअनुकुल काम गर्ने उनको एक मात्रै उद्देश्य भएको उनको भनाई छ ।
‘दुई पटक सांसद र एक पटक राज्यमन्त्री भइसकेको मान्छे हुँ, मलाई यहाँ आइरहनुपर्छ भन्ने छैन, तर लुम्बिनीको विकास म जस्ताले नगर्ने हो भने कस्ले गर्छ ?’, उनले भने, ‘मैले मेरो जीवन बुद्धिजममा विताएँ, अब पनि यसैमा समर्पित गर्ने अठोटका साथ काम गरिरहेको छु ।’
राज्यमन्त्री सरहको सेवा सुविधा प्राप्त कोषको उपाध्यक्ष भएपछि लामाले पवित्र भूमि लुम्बिनीको सेवा गर्न पाउनु नै सौभाग्य ठान्दै कुनै पनि सुविधा लिएका छैनन् । कोषका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे मन्त्रीमा नियुक्त भइसकेपछि लुम्बिनी आएका बेला लामाको कामबारे प्रशंसा गरेका थिए । मन्त्री पाण्डेले लामालाई तपाईंले आत्मादेखि नै काम गर्नुहुने रहेछ भन्दै पवित्र भावनाका कारण गरेको काम गर्ने व्यक्ति लुम्बिनीले पाउनु सौभाग्य भएको बताएका थिए ।
लामा हाल इन्टरनेशनल बुद्धिष्ट कन्फडेरेसनको अध्यक्ष पनि हुन् । जुन ८० भन्दा बढी मुलुकको छाता संगठन पनि हो । उनी आफूले नेतृत्वमा भए पनि नभए पनि यसै क्षेत्रमा प्रतिबद्ध भइ काम गरिरहने बताए । यसअघि गुम्बा व्यवस्थापनको अध्यक्ष हुँदा पनि पनि आफूले उल्लेख्य काम गरेको बताए ।
‘म गुम्बा व्यवस्थापनको अध्यक्ष हुँदा जम्मा १५० गुम्बा सदस्य थिए । त्यसलाई बढाएर मैले ३२ सय पुर्याएको थिएँ । १५ देखि २० दिनसम्म हिँडेर हिमाली जिल्लामा पुगेर त्यहाँ गुम्बालाई सदस्य बनाएका थियौं । आठ वर्ष त्यसरी काम गरेको थिए, यसले गुम्बा व्यवस्थापनमा निकै ठूलो सहयोग पुगेको थियो’, उनले भने । लुम्बिनीको विकासका लागि पनि त्यसैगरी काम गर्ने र यसलाई अन्तर्राष्ट्रिकरण गर्ने सोच र योजनाका साथ काम गरिरहेको उनले सुनाए ।
उपाध्यक्षमा नियुक्ति हुँदा विभिन्न बाहनामा विरोध गर्नेहरुलाई आफूले केही नभन्ने बरु कामबाट जवाफ दिने उनले बताए । ‘म पवित्र मनले काम गर्नका लागि यहाँ आएको हुँ, कस्ले के नाममा विरोध गर्छ भन्नुको अर्थ छैन, सबै विरोध गर्नेहरुलाई कामबाट जवाफ दिइरहेको छ’, उनले भने ।
शान्ति क्षेत्र कायम गर्ने लक्ष्य
उपाध्यक्ष डा. लामा मुलुकलाई शान्ति क्षेत्रका रुपमा स्थापित गर्नका लागि लुम्बिनीको विकास अपरिहार्य भएको बताउँछन् । भगवान गौतम बुद्धका चार वटा पवित्रस्थलमा लुम्बिनी, बोधगया, सारनाथ र कुशिनगर मानिन्छन् । त्यसमध्ये पनि लुम्बिनी भगवान बुद्धको जन्मस्थल भएकाले सबैभन्दा महत्वपूर्ण मानिन्छ । यसै क्षेत्रबाट विश्व शान्तिका लागि आह्वान गर्न सकिने र यस पवित्र भूमिलाई शान्ति क्षेत्रका रुपमा कायम गर्न सम्भव भएको उनको विश्वास छ ।
‘मानव जीवनबाट बुद्धत्व प्राप्त गर्नुभएका शान्तिका अग्रदूत भगवान बुद्धको सिंगो इतिहासबारे सबै काम हामी जस्तो साधारण मानिसले गर्न सक्ने अवस्था छैन, हामीले त प्रयास मात्रै गर्ने हो, हामीले उहाँका सबै उपदेश बताउन सक्ने हैसियत पनि राख्दैनौँ, यस उक्त सद्मार्गमा हिड्नका लागि प्रेरित गर्न भने सक्छौँ, त्यसका लागि लुम्बिनीको विकास र प्रवद्र्धन जरुरी छ’, लामाले भने ।
लुम्बिनी संसारभर फैलिएका एक अर्ब २० करोडभन्दा बढी बौद्ध धर्मालम्बीका साथ अन्य धर्म मान्नेहरुका लागि पवित्र भूमि हो । करोडौं बुद्धिष्टहरुको आस्थाको केन्द्र पनि हो ।
गुरुयोजना पूरा गर्ने अठोट
लुम्बिनीको विकासका लागि गुरुयोजना बनाएको करिब पाँच दशक पुग्न लागेको छ । सन् १९७८ मा जापानका वास्तुविद् प्राध्यापक केञ्जो टांगेको नतृत्वमा गुरुयोजना बनाइएको थियो । तत्कालीन सममयमा १७ वर्षमा पूरा गर्ने भनिए पनि हालसम्म गुरुयोजना पूरा भएको छैन ।
उपाध्यक्ष डा. लामा पछिल्लो समय गुरुयोजना पूरा गर्ने उद्देश्यका साथ काममा तल्लीन छन् । ‘तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले मलाई नियुक्त गरेर यहाँ पठाएको एक वर्ष भयो । यस अवधिमा मैले स्थानीय, कर्मचारीलगायत सरोकारवाला निकायसँग निकट रहेर काम गरिरहेको छु, कैयौँ चुनौतीहरु छन् । तर सक्दो प्रयास गरिरहेको छ । आवश्यक बजेट बिनियोजन भयो भने काम पूरा गर्न सकिन्छ’, उनले भने ।
यद्यपि आफू यहाँ आइसकेपछि लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन, यसको विकास र प्रवद्र्धनका लागि धेरै काम गरिरहेको उनले सुनाए । पछिल्लो समय यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्या अत्यधिक बढेको उनको अनुभव छ । गत बुद्ध पूर्णिमाका दिन यहाँ दुई लाखभन्दा बढी भक्तजन आएको उनले बताए । उनका अनुसार उक्त दिन राति १२ बजेसम्म ठूलो भीड थियो । आफू यहाँ आएर गरेका काम र प्रचारप्रसारका कारण त्यो सम्भव भएको उनको बुझाइ छ ।
उनका अनुसार हालका अर्थमन्त्री विष्णु पौडेल यसअघि अर्थमन्त्री हुँदा ७ अर्ब रुपैयाँ विनियोजन गरेकाले सडक र बत्ती पूर्वाधार निर्माण सकाएको र अहिले बजेट विनियोजनको पर्खाइमा रहेको बताए । उनका अनुसार अब करिब ९ अर्ब रुपैयाँ बजेट विनियोजन भए गुरुयोजनाको काम पूरा गर्न सकिन्छ । त्यसका लागि सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
गुरुयोजना पूरा भएपछि स्थानीय सरोकारवालाको माग पूरा गर्ने र शान्तिको पून्य भूमिका रुपमा परिचित बनाउने उनको योजना छ । यहाँ आउने तीर्थालुलाई बोल्ने शैली, बुद्धको इतिहास बताउन सक्ने गरी विकास गर्ने पनि लामाले योजना सुनाए । ‘यहाँ आउनेहरुको बसाइ लम्बाउनेदेखि उनीहरुलाई बुद्धिजमबारे बढीभन्दा बढी जानकारी दिने, प्रभावकारी सूचना प्रवाह गर्ने र प्रशासनलाई चुस्त बनाउने योजना छ’, उनले भने, ‘सरकारले साथ दिएमा यो पूरा गर्न धेरै समय लाग्दैन।’
उनले आफू आइसकेपछि सफाइदेखि व्यवस्थापनका पाटोमा उल्लेख्य उपस्थिती भएको बताए । आफूले स्थानीय, सरकार, सरोकारवाला निकाय, अन्तर्राष्ट्रियसँग संस्थालगायत विज्ञसँग सहकार्यमा काम गरिरहेको समेत बताए ।
पछिल्लो समय संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस नेपाल आउँदा लुम्बिनी आउनु पनि निकै महत्वपूर्ण विशेष भएको र यसले अन्तर्राष्ट्रिय तहमा थप प्रचारप्रसारमा सहयोग पुगेको उनले बताए । ‘हालसम्म संयुक्त राष्ट्रसंघका छ जना महासचिव लुम्बिनी आइसक्नुभएको छ । यूएनले बुद्ध पूर्णिमाका अवसरमा संसारभर बिदा पनि दिने गरेको छ’, उनले भने ।
विश्वमा शान्तिको सन्देश लुम्बिनीबाट प्रवाह हुने भएकाले लुम्बिनीमा विश्वको ध्यान आकर्षित भएको उनको बुझाइ छ । ‘विश्वलाई यतिबेला शान्ति चाहिएको छ, बुद्धको आशीर्वाद चाहिएको छ र यो लुम्बिनीबाट मात्रै सम्भव छ’, उनले भने, ‘यसबाट नेपालमा पर्यटन क्षेत्रको विकास गर्न पनि सकिन्छ, पछिल्लो समय विश्वविद्यालय नै सञ्चालन भएकाले यसबाट विश्वभर बुद्धिजमबारे ज्ञान फैलाउन पनि सकिन्छ ।’