logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नारायणहिटी अगाडिबाट चुनाव चाहियाे… चाहियाे… नारा लगाएका ओलीले बृहत् आमसभामा के-के भने ? (भिडियाेसहित)

    नारायणहिटी अगाडिबाट चुनाव चाहियाे… चाहियाे… नारा लगाएका ओलीले बृहत् आमसभामा के-के भने ? (भिडियाेसहित)

    2.1K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको समूह नै सक्कली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको बताएका छन् ।

    दरबारमार्गमा आयोजित सभाको सम्बोधनका क्रममा सुरुमै ओलीले भने, ‘मूल पार्टी कुन हो भनेर अहिले पनि कोही अलमलमा छ भने कठैबरा भन्न सकिन्छ । यही हो जहाँ तपाईँ हामी छौँ । कम्युनिस्ट पार्टीको मात्र नभइ देशकै मूल पार्टी नेकपा यही हो ।’

    सहभागीहरूलाई तर्साउन खोजिए पनि इतिहासकै सबैभन्दा ठूलो जनसभा आयोजना गरिएको उनकाे दाबी थियाे । ‘मलाई लाग्छ आजबाट कुन पार्टी सक्कली कुन पार्टी नक्कली भन्ने फैसला भयो’ उनले भने ।

    याे पनि : मैले नेतृत्व गरेकाे पार्टी नै सक्कली नेकपा हाे 

    ओलीले हिजोको नेपाल बन्दमा गरिएका गतिविधिहरुको तीब्र आलोचना पनि गरे ।

    उनले भने, ‘तपाईंहरुलाई उपस्थित हुन नदिन हिजो तथाकथित नेपाल बन्द गरियो । बन्द गर्दा के गरियो ? गरिब सर्वहारा श्रमजिवीका लागि काम गर्ने भन्ने, तर बुढी आमाले डोकामा बोकेर ल्याएर बेच्न राखेको टमाटर, तरकारी बाटाभरी छरेर क्रान्ति गर्न खोजियो । त्यही हो उहाँहरुको क्रान्ति । किसानका मूला फ्याँकिए, त्यही हो उहाँहरुको क्रान्ति ।

    एउटा गरिब ट्याक्सीवालालाई आगो लगाउनेहरु सर्वहारावादी पार्टी । ट्याक्सीभित्रै गरिब ड्राइभर जलाउन खोज्ने सर्वहारावादी पार्टी । घोषणै गरेर अब साकाहारी आन्दोलनले हुँदैन भनेको के हो ? चिकन चिल्ली खान्छु भनेको हो ? उहाँहरुले नरभक्षी आन्दोलन गर्न खोजेको हो । तर, नरभक्षी आन्दोलनका दिन गए । नरभक्षी आन्दोलन चलाउँछु भन्ने नसोचे पनि हुन्छ ।’

    उनले हिजो बन्दका क्रममा गरीब जनताले भोगेको क्षतिको सरकारले क्षतिपूर्ति दिने बताए ।

    ओलीले भने, ‘सागसब्जी फ्याकिएको छ, त्यो नोक्सानको सरकारले क्षतिपूर्ति दिन्छ । हामी उहाँहरूलाई क्षतिपूर्ति हामी दिन्छौं । ट्याक्सी इन्स्यारेन्स गरेको होला । क्षतिपूर्ति दिन लगाउँछौं । भएन भने गरिबलाई हेर्ने सरकार छ । जनतालाई माया गर्ने सरकार छ । शान्तिलाई मन पराउने सरकार छ ।’

    बन्द गराउने पार्टीले कतिपय ठाउँमा बम राखेर ‘बिप्लव’ लेख्ने काम गरेको ओलीले आराेप पनि लगाए ।

    याे पनि : शाकाहारी आन्दोलन हुन्न भनेको के हो ? चिकन चिल्ली खान्छु भनेको हो ?

    ओलीले अस्थिरता अन्त्यका लागि चुनावमा जानु आवश्यक भएको पनि बताए । नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षद्वारा आयोजित जनसभामा उनले चुनावको पक्षमा नारासमेत लगाए ।

    ओली आफैँले नारा पनि लगाए । ‘अस्थिरता होइन, चुनाव चाहियो… अस्थिरता होइन, चुनाव चाहियो… ।’

    नारा लगाइसकेर उनले भने, ‘अब सबैले सुने होला । अब देश चुनावतर्फ गयो, गयो । अब चुनावले फैसला गर्छ, कसको सरकार बन्नुपर्छ । ’

    प्रधानमन्त्रीले आफूले गरेको संसद विघटन असंवैधानिक नभएको दाबी पनि गरे । अन्य देशकाे उदाहरण दिएर उनले भने ‘बेलायतमा लिखित संविधान छैन, त्यहाँ प्रधानमन्त्रीले संसद विघटन गर्ने भनेर कतै लेखेको छैन । तर, प्रधानमन्त्रीले अस्ति भर्खर संसद विघटन गरेर चुनाव गराउनुभो । यसरी काम गर्न दिइएन भने प्रधानमन्त्रीले संसद विघटन गर्छ । ताजा जनादेश लिन्छ । हाम्रै बलमा संसदमा आएर हामीलाई नै काम गर्न नदिने, अनि सरकारले काम गरेन भनेर आलोचना गर्ने प्रवृत्तिको जवाफ चुनावबाट खोज्नुपर्छ ।’

    उनले आफ्नाे सम्बाेधनकाे क्रममा देशमा भइरहेकाे विकास निर्माणकाे कामका बारेमा पनि ब्याख्या गरे । 

    ओलीले कतिपयले आज बिहानसम्म पनि ओलीले राजतन्त्र फर्काउँछ रे भन्ने हल्ला फैलाएको पनि बताए ।

    ‘केपी ओलीले राजतन्त्र फर्काउने रे ! जसले राजतन्त्र फाल्नका लागिका जेल बसेको छ । त्यसले राजतन्त्र फर्काउँछ ?’ उनले प्रश्न गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गरेर अघि बढ्ने बताए । 

    सम्बाेधनकाे सुरुवातमा काठमाडाैंकाे इतिहासमा ठूलाे आमसभा दाबी गरेका ओलीले कार्यक्रमकाे अन्त्यतिर भने आजकाे सभा कास्टिङमात्र भएको बताए । केही समूहले अलिअलि भीड जम्मा गरेकाेले प्रतिउत्तरमा याे सभा गरिएकाे मात्र बताए । 

    प्रधानमन्त्री ओलीले आमसभा गर्नुपरे काठमाडौंका सबै सडकमा स्क्रिन र साउन्डसिस्टम राखिने र भव्य आमसभा गरिने पनि बताए । उनले आफू नेतृत्वकाे नेकपाकाे भेला फागुन एक गते बुटवलमा र आठ गते बिराटनगरमा हुने पनि जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend