काठमाडौं । नेकपा एमालेले वैशाख १० गतेको बैठकबाट महानगर र उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार छनोट गर्ने जनाएको छ ।
बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकमा सातै प्रदेशबाट महानगर र उपमहानगरका लागि उम्मेदवार सिफारिस गरेका नामहरूबारे सामान्य छलफल गर्दै अर्को बैठकले उम्मेदवार तय गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
‘आजको बैठकमा सातै प्रदेशबाट सिफारिस भएर आएका नाममा छलफल गर्यौ’, बैठकपछि गुरुङले भने, ‘वैशाख १० गते ३ बजे बस्ने बैठकले निर्णय गर्छ । ’ उनले ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारका लागि चितवन, विरगञ्ज र ललितपुरमा एकएक जना सिफारिस भएपनि अन्य तीन महानगरमा मेयरका उम्मेदवार धेरै रहेको बताए ।
नेता गुरुङका अनुसार चितवनको भरतपुरमा विजय सुवेदी, वीरगञ्जमा विजय सरावगी र ललितपुरमा हरिकृष्ण व्याञ्जनकार सिफारिस भएका छन् ।