logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • सुदूरपश्चिमका ८ जिल्ला समन्वय समितिमा कांग्रेस विजयी

    सुदूरपश्चिमका ८ जिल्ला समन्वय समितिमा कांग्रेस विजयी

    5.4K
    Shares

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएका आठ वटै जिल्लामा नेपाली कांग्रेस विजयी भएको छ । नौ जिल्ला रहेको यस प्रदेशमा बाजुरामा मात्रै निर्वाचन हुन सकेको छैन् । जिल्ला समन्वय समिति डोटीमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका लक्ष्मणबहादुर सिंह र उपप्रमुखमा कांग्रेसकै स्मृति चुनारा निर्वाचित भएका हुन् ।

    यसैगरी जिल्ला समन्वय समिति कैलालीमा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार पदमबहादुर कलेल विजयी भएका छन् भने उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का खगराज भुसाल विजयी भएका छन् ।

    जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रमुखमा कांग्रेसका दुर्गादत्त बोहरा र उपप्रमुखमा पनि कांग्रेसकै रामकुमारी राना निर्विरोध निर्वाचित भएका हुन् ।

    जिल्ला समन्वय समिति डडेल्धुरामा पनि नेपाली कांग्रेसका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका गगनसिंह भण्डारी र उपप्रमुखमा कांग्रेसकै अमृता ठडालीमगर निर्विरोध निर्वाचित भएका छन् ।

    बैतडीको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी विजयी भएका छन् । यस्तै उपप्रमुखमा माओवादी केन्द्रका दमनबहादुर कुँवर विजयी हुनुभएको छ । दार्चुलामा पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धन दलहरुका तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका महादेव बडू र उपप्रमुखमा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएका हुन् ।

    यस्तै जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर निर्वाचित भएका छन् भने उपप्रमुखमा पनि कांग्रेसकै दानमती बम शाही निर्वाचित भएका छन् ।

    जिल्ला समन्वय समिति बझाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धनका उम्मेदवारहरुको प्यानल नै निर्विरोध निर्वाचित भएको हो । समन्वय समिति प्रमुखमा कांग्रेसका नरबहादुर बोहरा र उपप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend