logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • राजनीतिमा आउने राजेश हमालको संकेत, प्रचण्डलाई भेट्न बिहानै पुगे खुमलटार

    राजनीतिमा आउने राजेश हमालको संकेत, प्रचण्डलाई भेट्न बिहानै पुगे खुमलटार

    4.6K
    Shares

    काठमाडौं । नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज भेटघाट गरेका छन् । उनी बिहान साढे ८ बजे प्रचण्डलाई भेट्न एक्लै उनको निवास खुमलटार पुगेका थिए ।

    राजनीति र चलचित्रका दुई हस्तीबीच करिब आधा घन्टा सौहार्द कुराकानी भएको छ । भेटघाटको समन्वय गरेका माओवादी निकट संगीतकार चेतन सापकोटाले चलचित्र क्षेत्रदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिबारे चर्चा परिचर्चा भएको जानकारी दिए ।

    पछिल्लो समयमा विदेशी चलचित्र, खासगरी भारतीय र दक्षिण भारतीय चलचित्रले नेपाली चलचित्र उद्योगलाई पुर्‍याइरहेको असरप्रति हमालले प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

    सरकारले विदेशी विलाशिताका वस्तुहरुको आयातमा रोक लगाउने निर्णय गर्दा त्यसमा विदेशी चलचित्रलाई नसमेटेकोमा हमालले असन्तुष्टि व्यक्त गरेका थिए ।

    ‘विदेशी चलचित्रका कारण नेपाली चलचित्र उद्योग अप्ठेरो अवस्थामा पुगेकोबारे हमालले ध्यानकर्षण गराउँदा प्रचण्ड गम्भीर देखिनुभएको थियो’, सापकोटाले भने ।

    भेटवार्ताका क्रममा नेपालको राजनीतिक विषयवस्तुबारे पनि कुराकानी भयो । हमालले एमसीसीदेखि एसपीपी र बीआरआईसम्मका विषयमा आफ्नो धारणा राखेका थिए । प्रचण्डले उनको बुझाइमा आफ्नो समर्थन रहेको बताए । यस्तै श्रीलंकामा हाल उत्पन्न भएको संकटका विषयमा पनि कुराकानी भएको थियो ।

    राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिका विषयमा तपाईंको ज्ञान र बुझाइबाट म प्रभावित भएँ’, प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले बताए ।

    हमालले आफू राजनीतिमा आउन सक्ने घुमाउरो संकेत गरेका थिए । यदि परिस्थितिले मागेको खण्डमा आफू राजनीतिमा आउन नहुने कुनै कारण नरहेको उनको भनाइ थियो । प्रचण्डले राजेश हमालजस्ता व्यक्तिको राजनीतिमा खाँचो रहेको बताए ।

    यद्यपि आफ्नो पार्टी माओवादीमा आवद्ध हुन भने उनले आग्रह गरेनन् । हमालले पनि त्यस्तो चाहना व्यक्त गरेनन् । सुरुवातमा संगीतकार सापकोटा र प्रचण्डपुत्री गंगा दाहाल पनि भेटवार्तामा सहभागी थिए ।

    पछि सापकोटा र गंगा निस्केर प्रचण्ड र हमालबीच वान टु वान कुराकानी भएको थियो । वान टु वान कुराकानीका क्रममा दुवैको बडी ल्याङ्वेज सकारात्मक देखिएको सापकोटाले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend