
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवं पार्टीका महासचिव शी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताएका छन् ।
दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्ल्ेख गर्दै उनले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने बताएका हुन् । सोमवार काठमाडौंको वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख लिउले बालबालिकाहरु खुशी भएमात्रै स्वस्थ रहनसक्ने उल्लेख गर्दै राम्रो अध्ययनका लागि बालबालिका स्वस्थ र खुशी हुन जरुरी रहेको बताए । उनले आजका बालबालिका नै भविष्यका नेपाल र चीनका मित्रताका परिपूरक भएको उल्लेख गरे । प्रमुख लिउले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र चीन दुई मुलुकबीचको सामाजिक संगठनमा धेरै सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले नेपाली बालबालिकाहरुलाई चीनमा भ्रमणका लागि जान पनि आग्रह गरे । प्रमुख लिउले चीनमा आएका नेपाली बालबालिकालाई स्वागत गर्न पाए आफू झनै खुशी अनुभव गर्ने र चिनियाँ बालबालिकाहरुसँग भेटघाट गराउने प्रतिवद्धतासमेत व्यक्त गरे ।
उनले भने, ‘यो कार्यक्रमको विषय धेरै महत्वपूर्ण छ । बालबालिकाहरु पूर्ण र राम्रो खाएर मात्र स्वस्थ हुनसक्छ । र मात्र राम्रो पढ्न सक्छ । राम्रोसँग हुर्किएपछि मात्रै आफू र परिवारलाई राम्रोसँग विकास गर्नसक्छ । चीन र नेपालबीचको युगौंयुगदेखिको आधार धेरै बलियो छ । दुई देशबीचको सम्बन्धको भविष्य उज्यालो छ । मैले आज बिहान बिपी कोईरालाको ईतिहास हेरेँ अनि नेपाल र चीनबीचका पुराना नेता र सम्बन्धको ऐतिहासिक कुरा पढेँ । हाम्रो पार्टीका महासचिव शी जिनपिङले चिनियाँ सरकार दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । त्यसैले यो सानो परियोजना पनि यस कोषको समर्थन पाउँछ भन्ने आशा छ । यो पनि दक्षिण कोष अन्तर्गत चिनियाँ सामाजिक संगठनले विश्वमा अघि बढाएको पहिलो परियोजनाहरु मध्ये एउटा हो । चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र चीन दुई मुलुकबीचको सामाजिक संगठनले सहयोग प्रदान गर्नेछ । यसमार्फत दुई मुलुकबीचको सम्बन्धलाई माथि लैजान सकिन्छ ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend