
काठमाडौं । आर्थिक वर्ष २०७८ ७९ मा त्रिभुवन विमानस्थल हुँदै नेपाल प्रवेश गरेका यात्रुले ल्याएको करिब ४८० किलो सुन राजश्वको मातहत रहेको छ । विभिन्न देशबाट नेपालमा भित्रिएका यात्रुले आफ्नो साथमा ल्याएको उक्त परिमाणको सुन त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले राजश्वको दायरामा ल्याएको हो ।
प्रचलित बजार दर अनुसार करिब ३ अर्ब ८० करोड रुपैयाँ मूल्य बराबरको सुन राजश्वको दायरामा आएको भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए ।उक्त परिमाणको सुनलाई प्रचलित कानुन बमोजिम राजश्व तिराएपछि यात्रुलाई नै फिर्ता दिइएको उनले बताए । यसबाट कार्यालयले ४५ करोड ५८ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । राजस्वको दायरामा आएसँगै त्यस्तो सुन अनौपचारिक बजारबाट औपचारिक बजारमा प्रवेश गरेको छ ।
भन्सार कार्यालयले राजस्वको दायरामा ल्याएको सुन तथा सुनका गरगहनालाई भन्सार राजस्व तिरेसँगै अब खुला बजारमा नियमित रूपमा खरिद÷बिक्री गर्न सकिने बताइएको छ । कानुनतः विदेशबाट नेपाल आउने यात्रुहरूले आफ्नो साथमा अधिकतम १०० ग्रामसम्म काँचो सुन भन्सार राजस्व तिरेर ल्याउन पाउँछन् ।
त्यसैगरी सुनको गहनाको हकमा अधिकतम २५० ग्रामसम्म साथमा लगाएर आउन पाइने कानुनी व्यवस्था छ । जसमध्ये पहिलो ५० ग्रामसम्मको गहनामा राजस्व छुट सुविधा उपलब्ध हुन्छ भने सो भन्दा बढी २०० ग्रामसम्मको गहनाको हकमा भन्सार राजस्व तिरेर मात्र ल्याउन पाइन्छ ।
१०० ग्राम भन्दा बढी काँचो सुन र २५० ग्राम भन्दा बढी सुनका गहना ल्याएको हकमा त्यस्तो सुन् तथा सुनका गहना जफत गरी भन्सार कानुन बमोजिम कारबाही गर्ने व्यवस्था रहेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend