
जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले बालविवाह रोकथाम गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । उक्त पालिकाको– ५ मा पर्ने दुर्गम चारवटा गाउँलाई बालविवाहमुक्त गाउँ घोषाण गरिएको छ ।
दिगो विकासको लक्ष्यअनुरूप पातारासीका गाउँलाई बालविवाहमुक्त घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिह बोहोराले जानकारी दिए।
यहाँका आठवटा स्थानीय तहका ६० वडामध्ये पातारासी गाउँपालिका–५ वडालाई बालविवाहमुक्त घोषणा गरिएको छ । अध्यक्ष बोहोराले भने, ‘विवाह उमेर समूहका २० वर्षमुनिका कुनै पनि बालबालिकाले विवाह नगरेको सर्वेक्षणबाट देखिएपछि बालविवाहमुक्त गाउँ घोषणा गरिएको हो ।’ अब अरु वडालाई छिट्टै बालविवाहमुक्त गरिने भएको छ ।
स्थानीय सरकारको प्राथमिकतामा परेको सामाजिक विकृति रोकथाम गर्न यो महत्वपूर्ण काम भएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।
बालविवाहमुक्त घोषणाका लागि विगत तीन वर्षदेखि बाल क्लब, वडा सरकार, समूह परिचालन तथा यससम्बन्धी परियोजना लागू गरेर अन्ततः बालविवाह शून्यमा झार्न सफल भएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिइन् ।
तातोपानीमा वित्तीय साक्षरता कार्यक्रम
स्वावलम्बन लघुवित्त शाखा कार्यालय जुम्लाले जिल्लाको तातोपानीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सोमबार यहाँको तातोपानी गाउँपालिका– २ मा एक कार्यक्रमका बीच साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
वित्तीय पहुँच पुर्याइ जीवनस्तर उकास्न, आम्दानी गरी खर्चमा मितव्ययिता अपनाइ बचत गर्ने बानी बसाल्न र आफ्नो पारिवारिक आम्दानी खर्चको लेखाजोखा गरी योजना बनाइ अगाडि बढ्न र वित्तीय अनुशासन कायम गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको स्वावलम्बन लघुवित्त इलाका प्रबन्धक दीपक महतले बताए ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाँइ जुन किसिममा कर्जा लिएका छन त्यही अनुसार काम गर्नुपर्नेमा जोड दिए। स्वावलम्बन लघुवित्त शाखा जुम्लामा कार्यरत कर्मचारी कर्णसिंह रावतले नेपाल राष्ट्र बैंकको नीति नियममा रहेर काम गरिरहेकोले बाहिर फैलिएको हल्लाको पछि नलाग्न सबैमा आग्रह गरे।
वित्तीय साक्षरता कार्यक्रममा लघुवित्तमा आवद्ध रहेका समूह, महिला सदस्यको सहभागी रहेको स्वावलम्बन लघुवित्त शाखा कार्यालय जुम्लाले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend