logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • गैरआवासीय नेपालीको नागरिकतासहितको विधेयक तत्काल टुंगो लाग्नुपर्छ: उपाध्यक्ष नेम्वाङ

    गैरआवासीय नेपालीको नागरिकतासहितको विधेयक तत्काल टुंगो लाग्नुपर्छ: उपाध्यक्ष नेम्वाङ

    1.2K
    Shares
    गैरआवासीय नेपालीको नागरिकतासहितको विधेयक तत्काल टुंगो लाग्नुपर्छ: उपाध्यक्ष नेम्वाङ

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गैरआवासीय नेपालीको नागरिकतासहितको विधेयक तत्काल कार्यान्वयनमा ढिलाइ भइरहेको स्वीकार्दै उनले यसमा राजनीतिक दलको कमजोरी भएको बताएका छन् ।

    चेक रिपब्लिकको राजधानी प्रागमा सुरु गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औं युरोपेली सम्मेलनको उद्घाटनमा सम्बोधन गर्दै उनले भने, ‘हामी आफैँले लेखेको संविधान कार्यान्वयन गर्न सकिरहेका छैनौँ, यो हाम्रो कमजोरी हो, तर गैरआवासीय नेपालीको नागरिकतासहितको विधेयक तत्काल टुंगो लगाउने विषयमा हामी सबै राजनीतिक दल प्रतिबद्ध छौँ ।’

    गैरआवासीय नेपाली संघ आफैमा ठूलो अभियान भएको समेत उनले बताए । नेम्वाङले भने, ‘सिंगो नेपाल र नेपालीसँग, देश बाहिर रहेका नेपालीलाई जोड्ने अभियानमा लागेका सबैलाई धन्यवाद दिन चाहान्छु, यो अभियान, यो आन्दोलन अझ सशक्त र एकजुट होस् भन्ने मेरो चाहाना हो ।’

    कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका सचेतक रमेश लेखकले गैरआवासीय नेपालीका मुद्दा सम्बोधनका लागि नेपालमा कुनै दलीय विमति नरहेको बताए। एकपटकको नेपाली सदैव नेपाली हुने भन्दै नेता लेखकले संविधानले परिकल्पना गरेको गैरआवासीय नेपालीको अधिकार प्राप्तिमा कुनै बाधा नहुने बताए। उनले भने, ‘तपाईहरुले एक पटकको नेपाल सधैंको नेपाली भन्नुभएको छ, यो कुराले सम्पूर्ण सार बोकेको छ, नागरिकताको सबाल पनि सम्बोधन हुन्छ, विभिन्न कारण नागरिकता विधेयक रोकिएको छ, तर अब त्यो अवस्थाको अन्त्य हुन्छ, नेपाली काग्रेस सरकारमा समाबेश भएको हैसियतले यो हाम्रो पनि जिम्मेवारी हो, यो नागरिकताको विधेयक अबको ६ महिनाभित्र टुंगिन्छ ।’

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिश झाले गैरआवासीय नेपालीहरुले नेपालमा राम्रो कुराको विकास गर्न हातेमालो गर्नुपर्नेमा जोड दिए । गैरआवासीय नेपालीको मुद्दा सम्बोधनका लागि आफूहरु पनि सकारात्मक भएको उनको भनाई थियो ।

    कार्यक्रममा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले कार्यक्रमको सफलताको कामना गर्दै गैरआवासीय नेपालीका माग छिट्टै नीतिगत रुपमा सम्बोधन हुने विश्वास व्यक्त गरे ।

    यसैगरी गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले सरकार र राजनीतिक दलहरुसँगको भेटमा आगामी ६ महिनाभित्र गैरआवासीय नेपाली नागरिकताको विषय टुंगिने आश्वासन पाएको स्मरण गराउँदै नागरिकताको विषय टुंगिनेमा ८० लाख गैरआवासीय नेपाली विश्वस्त रहेको बताए ।

    यस्तै, अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीका मुद्दा सम्बोधनका लागि सरकारले गम्भीर बन्नुपर्नेमा जोड दिए ।

    शुक्रवारदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औं युरोपेली सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा सुरु भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend