logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • मैले कथा भन्ने कोशिस गरेको हुँ: निर्देशक खनाल

    मैले कथा भन्ने कोशिस गरेको हुँ: निर्देशक खनाल

    2.9K
    Shares
    मैले कथा भन्ने कोशिस गरेको हुँ: निर्देशक खनाल

    काठमाडौं । चलचित्र र रङ्गमञ्चमा उत्तिकै लोकप्रिय अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रापश्चात् निर्देशक बने। उनको पहिलो निर्देशकीय चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ ।

    ‘मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आम दर्शक र समाजमा यो कथा पुर्‍याउनुपर्छ भन्ने लाग्यो’, अभिनेता खनालले भने, ‘यसलाई कथामार्फत नै दर्शकसामु पुर्‍याउनुपर्छ भन्ने लागेर निर्देशन गरेँ । मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा नि अप्ठ्यारो हुन्थ्यो । मैले सरोज नै भनेर सम्बोधन गरिदिनुस् भनेर भन्थे ।’

    आफूलाई कथावाचक भन्न रुचाउने खनालले चलचित्रमा वरिष्ठ कलाकारलाई स्थान दिएका छन् । उनीहरू अभिनयमा पोख्त हुनाका साथै चरित्रअनुसार उपयुक्त हुने भएकाले चलचित्रमा अधिकांश पुराना कलाकारलाई स्थान दिएको खनालले बताए ।

    ‘छायाङ्कनका क्रममा कुनै कलाकारलाई पनि अभिनय गरेर बुझाइनँ, भनिनँ । केबल चरित्र र दृश्यलाई सम्झाएँ’, अभिनेता खनालले भने, ‘नीर राजा (नीर शाह) लाई मैले अलिकति फरक चाहिएको भनेर भूमिका बुझाएँ । उहाँ आफैँले विभिन्न चरित्र देखाएपछि मैले चाहेको यो हो भने, यसरी हामीले छायाङ्कन सकेका थियौँ ।’

    सयौँ चलचित्रमा अभिनय गरिसकेका अभिनेता खनालले चलचित्रमा ‘स्टार’का रुपमा चिनिएका कलाकारभन्दा पनि विषयवस्तु र कथा महत्वपूर्ण हुनुपर्ने बताए । एकल महिलाको कथा, समवेदना र शिक्षाको महत्वलाई चलचित्रमा प्रस्तुत गरिएको उनको भनाइ छ ।

    आफैँसँग धेरै चलचित्रमा सहकार्य गरेकी अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको भूमिकामा प्रस्तुत गरिएको उनले जानकारी दिए ।

    चलचित्र ‘बगान’ मा निर्देशक खनालसँगै करिश्मा मानन्धर, प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालगायत कलाकारले अभिनय गरेका छन् । कार्कीले यसै चलचित्रबाट अभिनय सुरू गरेका हुन् ।

    ‘आफ्नो पात्रलाई जीवन्त बनाउनुभएकी कार्कीको उज्वल भविष्य देखेको छु । म आफ्नो कलाकारिताको अनुभवले पनि उहाँलाई मूल्याङ्कन गर्न सक्छु’, निर्देशक खनालले भने, ‘उहाँले पात्रलाई न्याय गर्नुभएको छ । यो कलाकारको सकारात्मक पक्ष हो ।’

    अभिनेत्री कार्कीले पहिलो चलचित्रमार्फत पाएको प्रतिक्रियाले आगामी दिनमा कलाकारितामा लाग्न सहज हुने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘मैले पाएको पात्रलाई बाँच्ने कोशिस गरेकी हुँ । आफूभन्दा अग्रज कलाकारसँग काम गर्दाको फाइदा नै उहाँहरूको अनुभवलाई प्रयोग गर्न सकिन्छ । मैले यसलाई अवसरका रूपमा सदुपयोग गरेकी हुँ ।’

    स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ संयोजन गरेका छन् । चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend