logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • कोशीको भँगालोमा फस्यो प्रचण्डको कुर्सी

    कोशीको भँगालोमा फस्यो प्रचण्डको कुर्सी

    4.3K
    Shares
    कोशीको भँगालोमा फस्यो प्रचण्डको कुर्सी

    सुलभ शर्मा / काठमाडौँ । कोशी प्रदेश सरकार गठनमा पार्टीमा विद्रोह गरेका शेखर कोइरालाले कबुलियतनामा नामको एउटा कागजको चिर्कटमा वर्तमान सत्ता गठबन्धन धरापमा पर्न दिन्न भनेर सही गरेको भएपनि प्रधानमन्त्री प्रचण्डको कुर्सी भने अब कोशीको भँगालोमा धकेलिइसकेको छ ।

    कोशीको भँगालो किन पनि बलियो छ भने त्यसका पछाडि प्रधानमन्त्रीको दलभन्दा धेरै ठूलो प्रमुख प्रतिपक्षी दलको टेको छ । बलियो टेकोमा उभएिको कोशीको प्रदेश सरकारले अब प्रचण्ड नेतृत्वको संघीय सरकारलाई ताकेको छ।   र लाग्छ कोशीे सरकारले आउने ३० दिन भित्र विश्वासको मत लिएपछि कोशीको तीर काठमाडौँतिर नै सोझिनेछ ।

    प्रचण्ड सरकार आफ्ना विरुद्ध  लागेपछि बिच्किएका काँग्रेसका नेता तथा सांसद डा सुनिल शर्मा कोशीबाट आफ्नो हैसियत देखाइदिने भनेर जसरी भूमिगत गिरोहजस्तो गरी लागेका थिए, त्यसको  टेलर परिणाम उनले  शनिबार  निकालिसेकका छन् ।  प्रधानमन्त्री प्रचण्डले ‘यो टेलर मात्र हो, सिंगो फिल्म हेर्न बाँकी नै ‘ भनेजस्तै कोशीबाट टेलर शुरु गरेका शर्माको  सिंगो फिल्म हेर्न बाँकी नै छ ।

    टेलर पनि यसरी निस्कियो कि आफ्नै पार्टीमा बिद्रोह गरेर काँग्रेसको शेखर समूहले आफू पक्षीय मुख्यमन्त्री मात्र बनाएनन्, अब त्यहाँको संसदीय दलको नेता समेत फेर्ने तयारी थालिसके । सुनिँदैछ  दलको नेता फेर्ने जिम्मेवारी पनि डा शर्माले लिएका छन् । अहिले मुख्यमन्त्रीको पक्षमा देखिएका ९ जना बाहेक अब त्यहाँ संसदीय दलको नेता छान्नका लागि काँग्रेसका २८ जना सांसदमध्ये ६ जना आवश्यक छ र ती ६ जनालाई शेखर समूहका पक्षमा ल्याउन उनी बिराटनगरमा भरमग्दुर प्रयास गरेका छन्।

    अर्काे रमाइलो पक्ष यो देखियो काँग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता टुट्न दिनेछैनौँ भन्ने सहमति पनि आफ्नै पार्टीका अर्थात् आफैसँग पार्टी सभापतिमा पराजित शेखर कोइरालासँग गर्नुपरेको छ । यसलाई कतिपयले यो रुपमा लिएका छन् कि जसरी आफ्नै सरकार भएका बेलामा अर्थमन्त्री डा प्रकाशशरण महतले डा शर्मालाई पक्राउन लगाएका थिए, त्यसको बदला शर्माले आफ्नै पार्टीका नेता शेखरसँग सार्वजनिक रुपमा कबुलियतनामामा सही गराएर देउवासँग लिएका छन् ।

    कोशी सरकारको गठनका विषयमा शनिबार गरिएको तीन नेताको हस्ताक्षरको कबुलियतनामा निकै कमजोर छ । कबुलियतनामाको भौतिक स्वरुप त अत्यन्तै कमजोर छ नै यसको नैतिक पक्ष झन् त्यो भन्दा पनि कमजोर छ । यो कबुलियतनामा एउटा हास्यास्पद कागजको खोस्टोमा छ जसले त्यसमा सही गर्ने मुलुकका प्रधानमन्त्री तथा उनलाई प्रधानमन्त्री बनाउने मुलुकको सबैभन्दा ठूलो दल काँग्रेसका सभापतिको पनि उपहास गरेको छ ।

    तीन लाइनको त्यो कागजको खोस्टोले हतार मात्र होइन हतास पनि देखाएको छ । गठबन्धन कायम रहन्छ कि रहँदैन भन्ने भन्दा पनि यो कागजले प्रचण्डको कुर्सीमा कोशीको भँगालो छिराउनका लागि अहिलेको गर्जाे मात्र टारेको छ ।

    आफ्नो भौतिक रुप र भावनामा कबुलियतनामा जति कमजोर देखिन्छ, त्यत्तिकै कमजोर बन्दैछ वर्तमान सत्ता गठबन्धन । काँग्रेस नेता देउवाले आफ्नै दलका अर्का नेता शेखर कोइरालासँग कबुलियतनामा गर्नु परेको अवस्थाले यो सरकारलाई कहिलेसम्म र कत्तिको बलियो टेको दिन सक्ला ? सबैले सहजै अनुमान लगाउन सक्छन् ।

    अनि के लामो गृहकार्यपछि एमालेसँग जोडिइसकेको शेखर समूहले आजै चिर्कट लेखेर म सत्ता गठबन्धन तोड्न लाग्दिन भन्दा पत्याउन सकिएला ? कोशीको भँगालोमा प्रधानमन्त्री प्रचण्डको कुर्सी फसाएपछि शेखर समूहले पक्कै पनि राजधानीसम्म आउने बाटो भित्रभित्रै खनेकै होला । पछि पछि रहेको एमाले र त्यसका पनि चतुर खेलाडी केपी ओलीले राजधानीसम्म कोशी छिराउने नै छन् । जसरी कोशीमा संविधानको धारा १६८ को उपधारा ५ को प्रयोग पार्टीको पनि ह्वीप नलाग्ने गरी कुनै स्वतन्त्र व्यक्तिका नामा भयो त्यो नजिर संघीय सरकारमा पनि लागू नहोला भनेर कसरी भन्न सकिन्छ ।

    कोशीमा प्रमुख विपक्षी दलसँग मिलेर, आफ्नो पार्टीका पनि आफ्ना पक्षीय सदस्यहरुको मात्र सहयोगमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सफल शेखर समूह अबका दिनमा झन् बलियो हुने देखिन्छ ।
    यसले सभापति देउवालाई अब प्रचण्डसँगको गठबन्धन तोडेर आफू प्रधानमन्त्री बन्ने कि एमालेको सहयोगमा बन्ने शेखर कोइरालको सरकारलाई समर्थन गर्ने भन्ने धर्म संकटमा धकेलिदिएको छ । किनभने कोशीको सरकारले विश्वासको मत पाएपछि काठमाडौँमा कोशी छिराउन सुनिल शर्माहरु फेरि लाग्ने नै छन् । देउवालाई प्रचण्डको पञ्जाबाट बाहिर निकाल्न सकेनन् भने उनीहरुको अभियान काठमाडौँमा कोशी छिराउन सफल हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend