logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • बिपिसीले लगानी जुटाउन अघि बढायो एफपिओ निष्कासन प्रक्रिया

    बिपिसीले लगानी जुटाउन अघि बढायो एफपिओ निष्कासन प्रक्रिया

    1.3K
    Shares
    बिपिसीले लगानी जुटाउन अघि बढायो एफपिओ निष्कासन प्रक्रिया

    काठमाडौं। सार्वजनिक निजी साझेदारीमा सञ्चालित बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले थप सार्वजनिक निष्कासन (एफपिओ) ल्याउन प्रक्रिया अघि बढाएको छ । नयाँ आयोजना बनाउन थप लगानी जुटाउन एफपिओ निष्कासन गर्न लागेको बिपिसीले जनाएको छ । एफपिओ निष्कासनको प्रस्ताव वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।

    कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड कित्ता एफपिओ ल्याउने भएको छ । कम्पनीले प्रिमियम मूल्य भने खुलाएको छैन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडबाट आइआरएन ए माइनस पाएको छ । एफपिओबाट प्राप्त रकम विभिन्न नयाँ जलविद्युत आयोजना निर्माणमा लगानी गर्ने बिपिसीले जनाएको छ । बिपिसीले चिनियाँ कम्पनीहरूसँगको साझेदारीमा ७ सय ८४ मेगावाट क्षमताका आधा दर्जन आयोजना बनाउने तयारी गरेको छ ।

    बिपिसीले ३ सय २७ मेगावाटको माथिल्लो मस्र्याङ्दी २, १ सय ३५ मेगावाटको मनाङ मस्र्याङ्दी, १ सय ४० मेगावाटको तल्लो मस्र्याङ्दी र ८ मेगावाटको चिनो खोला आयोजना बनाउँदै छ । यस्तै बिपिसीले सहायक कम्पनीबाट ३७.६ मेगावाट काबेली ए आयोजना बनाइरहेको छ ।

    प्रस्तावित यि सबै आयोजना २०२६ को पहिलो त्रैमासभित्र सक्ने लक्ष्य रहेको बिपिसीले जनाएको छ। बिपिसीले १ सय ७४ मेगावाटको मुगु कर्णालीको सम्भाव्यता अध्ययन गरिरहेको छ ।

    आयोजनामा लगानी गर्न बिपिसी र तीन चिनियाँ कम्पनीले एससिआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि गठन गरिसकेका छन् । एससिआइजीमा बिपिसीको १९.५ र बाँकी ७९.५ प्रतिशत चिनियाँको स्वामित्व छ । आयोजना हिमताल हाइड्रोपावर कम्पनीले निर्माण गर्ने छ ।

    एससिआइजीमा बिपिसीबाहेक एससिआइजी इन्टरनेसनल लिमिटेड, जिचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, क्युआइइसी इन्टरनेसनल कम्पनी लिमिटेड हङकङको लगानी छ ।

    बिपिसीले नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब रुपैयाँ बढी वैदेशिक लगानी ल्याउन सम्झौता गरेको छ । बिपिसीले ३० मेगावाटको न्यादी आयोजना, १२ मेगावाट झिमरुक, ४ मेगावाट खुदी र ९ मेगावाट आँधिखोला आयोजनाबाट बिजुली उत्पादन गरिरहेको छ । सञ्चालनमा रहेका यि आयोजनाको जडित क्षमता २५ मेगावाट छ ।

    मस्र्याङ्दी करिडोरमा चिनियाँसँग मिलेर बनाउन लागेको ६ सय १ मेगावाटका ३ आयोजनाको अनुमानित लागत १ अर्ब २० करोड डलर छ । आयोजनाहरूमा २० प्रतिशत स्वपुँजी (इक्विटी) र ८० प्रतिशत ऋण लगानी हुने छ ।

    यसबाहेक कम्पनीको गत वर्ष २०२३ को अन्त्यमा ४ अर्ब २६ करोड ८० लाख रुपैयाँ लगानी थियो । बिपिसीले विकासशील ५ कम्पनीमा लगानी गरेको छ । ६ सय ४६ मेगावाटको संयुक्त क्षमताका जलविद्युत आयोजनामा पुँजीगत प्रतिबद्धता जनाएको छ । यि आयोजनाहरुमा बिपिसीले ७ अर्ब रुपैयाँ बढी लगानी गर्ने छ । जसमध्ये कम्पनीले कुल लगानीको प्रतिबद्धताको ३४ प्रतिशत लगानी गरिसकेको छ । बाँकी रकम कम्पनीले एफपिओबाट प्राप्त हुने प्रतिबद्धता पूरा गर्ने योजना बनाएको छ ।

    सन् १९६५ मा नेपाल सरकार र युनाइटेड मिसन टु नेपालको साझेदारीमा बिपिसीको स्थापना भएको हो । सन् २००३ मा सरकारले बिपिसीलाई निजीकरण गरेको हो । त्यसपछि सांग्रिला इनर्जी लिमिटेड, सरकार, नेपाल विद्युत प्राधिकरण, युनाइटेड मिसन, आइकेएन नेपाल एएस नर्वेको स्वामित्व छ ।

    कम्पनीको १२ मेगावाटको झिम्रुक र ९.४ मेगावाटको आँधिखोला जलविद्युत आयोजना सञ्चालनमा छ । बिपिसीले सहायक कम्पनीमार्फत ३० मेगावाटको न्यादी र ४ मेगावाटको खुदी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend