logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • सौर्य सिमेन्टले गर्यो ६ महिनामा २ अर्ब ५८ करोडको व्यापार, १४ अर्ब ऋण

    सौर्य सिमेन्टले गर्यो ६ महिनामा २ अर्ब ५८ करोडको व्यापार, १४ अर्ब ऋण

    1.6K
    Shares
    सौर्य सिमेन्टले गर्यो ६ महिनामा २ अर्ब ५८ करोडको व्यापार, १४ अर्ब ऋण

    काठमाडौं । मुलुकका तीन प्रमुख व्यवसायिक घरनाहरुको लगानीमा सञ्चालन भइरहेको सौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले ६ महिनामा २ अर्ब ५८ करोड ६० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको छ ।

    सौर्य सिमेन्टमा प्रतिष्ठित व्यवसायिक घरना शंकर ग्रुप, अम्बे ग्रुप र हुलास ग्रुपको लगानी रहेको छ । सन् २०२३ मा उद्योगले ७ अर्ब ४० करोड ७० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो । यस्तै २०२२ मा ७ अर्ब ४३ करोड र २०२१ मा २ अर्ब ६३ करोड १० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

    २०२४ मा सिमेन्टको मागमा आएको शिथिलताले उद्योगको व्यापारमा असर गर्ने देखिएको छ ।

    उद्योगले १४ अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको छ । दीर्घकालिन ऋण १० अर्ब ८५ करोड ८६ लाख र अल्पकालिन ऋण ३ अर्ब १६ करोड रुपैयाँ रहेको छ । दीर्घकालिन ऋणले त्रिपल बि माइनस र अल्पकालिन ऋणको ए थ्रि रेटिङ पाएको छ ।

    सौर्य सिमेन्टमा बलियो प्रवद्र्धक समूहहरू रहेका छन् । उद्योगका लगानीकर्ता सिमेन्टमा लामो ट्र्याक रेकर्ड भएको अनुभवी व्यवस्थापन टोली छ । ठूला व्यवसायिक घरनाको लगानी भएका कारण सौर्यले अपरेटिङ दक्षताबाट पर्याप्त लाभ उठाउदै आएको छ ।

    उद्योगको मुख्य रूपमा क्लिंकर र विद्युतको आपूर्ति व्यवस्थाका साथै पूर्व र मध्यमा सुधारिएको बजार हिस्सा राम्रो छ । पूर्वमा कूल उत्पादनको ५२ देखि ५५ प्रतिशतसम्म सौर्य सिमेन्ट व्यापार हुने गरेको छ ।

    तीन प्रमुख व्यवसायिक घरनाहरु उत्पादन, जलविद्युत, बैंक, बिमा र व्यापार क्षेत्रमा संलग्न छ ।

    २०२१ देखि सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको हो । दैनिक ३ हजार टन क्षमताको क्लिङकर प्लान्ट सन २०२१ देखि सञ्चालनमा आएको हो । उद्योगले सहायक कम्पनी सौर्य सिमेन्ट लिमिटेडले खानीको अधिकार लिएको छ ।

    खानी कारखानास्थल मिर्चैयादेखि ४० किलोमिटर टाढाको दुरीमा रहेको छ । उद्योगले ५० किलोमिटरको दूरीमा दुई थप खानी थपेको छ । यी दुवै खानी उत्खननको प्रक्रियामा छ । नयाँ खानीहरूले उद्योगको ‘अपरेशनल प्रोफाइल’लाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।

    पूर्व–पश्चिम राजमार्गको सिराहाको मिर्चैयामा सौर्यको उत्पादन कारखाना छ । उद्योगसँग साढे ५ मेगावाट क्षमताको ‘वेस्ट हिट रिकभरी सिस्टम’ पनि छ । यसले उद्योगको २५ प्रतिशत ऊर्जाको मागलाई पुरा गर्दै आएको छ । उद्योगको मुलुकभरी ८० भन्दा बढीको फराकिलो नेटवर्क छ ।

    नेपालभर १ हजार ८ सय भन्दा बढी डिलरहरू रहेको उद्योगले जनाएको छ । उद्योगले सौर्य ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

    २०१७ सेप्टेम्बरमा स्थापना गरेको उद्योग प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न सन २०२२ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । उद्योगका अध्यक्ष शंकर ग्रुपका भाइस प्रेसिडेन्ट सुलभ अग्रवाल छन । सौर्यको दैनिक सिमेन्ट उत्पादन क्षमता ३ हजार टन छ ।

    नेपालमा ६० सिमेन्ट र २० क्लिङकर उद्योग सञ्चालनमा छन । उद्योग धेरै भएकाले बजारमा सिमेन्टमा कडा प्रतिस्पर्धा देखिएको छ । अझै केही ठूला सिमेन्ट उद्योग पाइपलाइनमा छन् ।

    प्रिमियम मूल्यमा आइपिओ ल्याउने

    सौर्य सिमेन्टले प्रिमियम मूल्यमा प्राथमिक सेयर निष्कासन गर्दै छ । उद्योगले प्रतिकित्ता १ सयमा थप १ सय ६४.५१ रुपैयाँ प्रिमियम थपेर कूल २ सय ६४.५१ रुपैयाँमा निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा प्रस्ताव गरेको छ ।

    उद्योगले १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता आइपिओ निष्कासन गर्न लागेको छ । प्रस्तावित प्रिमियम मूल्यलाई आधार मान्दा १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता आइपिओ निष्कासन गर्दा ४ अर्ब २२ करोड ७२ लाख ६६ हजार ५ सय ६५ रुपैयाँ हुन आउँछ ।

    यद्यपि धितोपत्र बोर्डले उद्योगले प्रस्ताव गरेको मूल्यमा आईपिओ निष्कासन गर्न सौर्यलाई अनुमति दिन बाँकी छ ।आइपिओ निष्कासन तथा बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend