logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • हिरो मोटरसाइकल अब नेपालमै उत्पादन, वार्षिक ७५ हजार युनिट ‘एसेम्बल’ हुने

    हिरो मोटरसाइकल अब नेपालमै उत्पादन, वार्षिक ७५ हजार युनिट ‘एसेम्बल’ हुने

    2.1K
    Shares
    हिरो मोटरसाइकल अब नेपालमै उत्पादन, वार्षिक ७५ हजार युनिट ‘एसेम्बल’ हुने

    काठमाडौं । हिरो मोटरसाइकल नेपालमै उत्पादन हुन थालेको छ । यसअघि भारतबाट आयात हुने गरेकोमा चौधरी ग्रुपसँगको साझेदारीमा हिरो मोटरसाइकाल र स्कूटर उत्पादन नेपालमा हुन थालेको हो । भारतको हिरो मोटरकर्पको साझेदारीमा चौधरी ग्रुपको सिजी मोटरले नेपालमै हिरो मोटरसाइकलको ‘एसेम्बल’सुरु गरेको छ ।

    हिरोका एक्सपल्स २०० फोर भि, सुपर स्पेलेन्डर र स्प्लेन्डर प्लसका साथै ११० सिसीको जुम स्कूटर नबलपरासीस्थित सिजी इन्डष्ट्रियल पार्कमा रहेको अत्याधुनिक प्लान्टमा एसेम्बल गरिने सिजीले जनाएको छ । सिजीले विभिन्न चार उत्पादनको आइतबार सार्वजनिक गरेको छ ।

    सञ्चालनमा आएको एसम्बल प्लान्टबाट वार्षिक ७५ हजार युनिट मोटसाइकल र स्कूटर उत्पादन हुने कम्पनीले जनाएको छ । यसले नबलपरासीमा नयाँ लगानी ल्याउन र रोजगारीको अवसर सिर्जना गर्ने कम्पनीको भनाई छ । सिजी मोटर्सले मुलुकभर सेल्स तथा सर्भिस सेन्टर नेटवर्कको द्रुत विकास गरिरहेको जानकारी दिएको छ ।

    आगामी तीन महिनाभित्र १०० भन्दा बढी सेल्स तथा सर्भिस आउटलेटहरू खोल्ने सिजीको लक्ष्य छ । सिजी मोटर्सले काठमाडौंमा हिरोको प्रमुख तथा फ्ल्यागसिप सोरुम खोलिसकेको छ ।

    नेपालमा एसम्बल भएको हिरो मोटरसाइकल सार्वजनिक गर्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सिजी मोटर्सका लागि हिरो मोटोकर्पसँगको सहकार्य विशेष क्षण भएको बताए । ‘सिजी मोटर्सका लागि यो एकदमै विशेष क्षण हो । हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र नयाँ उत्पादनहरू ‘लन्च’ गर्न पाउँदा उत्साहित छौं ।’

    हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्वस्तरीय दक्षता सञ्चालन विस्तार गर्नका लागि धेरै लाभदायक हुने उनले बताए । उनले हिरो मोटरसाइकल देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर रहेको जानकारी गराए ।

    उनले देशबाट युवाहरू बाहिरिरहेका बेला कम्पनीले आशा देखेको बताए । उनले हरेक मानिसभित्र एक हिरो हुने बताउँदै हिरोले नेपाली बजारमा अझै नयाँ उचाइ बनाउने चौधरीले दाबी गरे ।

    उनले हिरो मोटोरसाइकलको प्रविधि, मूल्य र बिक्रीपछिको सेवामा कुनै शंका गर्न नमिल्ने स्पष्टपारेका छन् ।

    नयाँ एसेम्बली सुविधा नेपालको मध्यभागमा अवस्थित छ । जसले गर्दा हिरोका उत्पादनहरू द्रूतरूपमा देशभर उपलब्ध हुने सुनिश्चितता प्रदान गर्ने भएको छ । साथै, सेल्स तथा सर्भिस नेटवर्कको द्रूत विस्तारले सबै ग्राहक आवश्यकताहरू निर्वाधरूपमा सम्बोधन गरिएको सुनिश्चित गर्ने उनले जानकारी दिए ।

    सहकार्यबारे हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले नवीनता र प्रविधिलाई मूल मन्त्र मानेर विश्वभरका ग्राहकलाई विश्वस्तरीय उत्पादनहरू प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिए ।

    नयाँ सहकार्यले हिरो मोटोकर्प, सिजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण भएको उनले बताए । अत्याधुनिक एसेम्बली युनिटले अब विश्वस्तरीय उत्पादन र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने उनले जानकारी दिए ।

    ‘सेल्स र सर्भिस नेटवर्कको द्रूत विस्तारले हामीलाई हाम्रा विश्वस्तरीय उत्पादनहरू र सेवाहरूसँग बजार जोड्न सक्षम बनाउँछ । हाम्रो साझेदार सिजी मोटर्ससँगै नेपालमा हाम्रो नयाँ फोकसले नेपालप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्वित गर्दछ, जुन हाम्रो लागि निकै महत्वपूर्ण बजार हो’ उनले भने । उनले यसअघि हिरो एक नम्बर रहेको र अहिले खसकिए पनि निर्वाण चौधरीको नेतृत्वमा फेरि एक नम्बरमा जाने बताए । उनले एक वर्षभित्र विद्युतीय सवारी बजारमा ल्याउने पनि बताए ।

    सन् २०१४ मा नेपालमा प्रवेश गरेको हिरोले बर्षौंदेखि सुपर स्प्लेन्डर र एक्सपल्स २०० मोटरसाइकलहरूजस्ता सर्वाधिक रुचाइएका प्रतिष्ठित उत्पादनका साथ आफूलाई देशकै अग्रणी मोटरसाइकल ब्रान्डको रूपमा स्थापित भएको छ ।

    कम्पनीका लागि एसियामा नेपाल एक प्रमुख बजार हो । सिजी नेपालको व्यापार परिदृश्यमा एक प्रमुख व्यावसायिक घराना हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend