आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बचतकर्ताको ६ अर्ब अपचलन गरेर फरार लालिगुराँस सहकारीका सिइओ सुरेन्द्र भण्डारी पक्राउ

बचतकर्ताको ६ अर्ब अपचलन गरेर फरार लालिगुराँस सहकारीका सिइओ सुरेन्द्र भण्डारी पक्राउ

काठमाडौं । बचतकर्ताको अर्बौं रुपैयाँ अपचलन गरेर फरार ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।

भण्डारीलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विशालनगरबाट पक्राउ गरेको हो । भण्डारीलाई पक्राउ गरी अनुसन्धान भइरहेको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

भण्डारीमाथि बचतकर्ताको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत फागुन २९ गते लालगुराँस सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।

लालिगुराँसले सरकारलाई कर पनि बुझाएको छैन् ।

सहकारीका सञ्चालकहरूले बचतकर्ताको ६ अर्ब रूपैयाँ निजी कम्पनीमा लगानी गर्नुका साथै राजनीतिक दलका नेताका आफन्तलाई ऋण दिई दुरूपयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

सहकारीमा बचतकर्ताको उजुरी बढ्दै गएपछि सहकारी विभागले दीपकराज पोखरेलको संयोजकत्वमा स्वतन्त्र अनुगमन गरेको थियो । अनुगमन टोलीले गत प्रतिवेदन पेस गर्दै संस्थामा सेयर सदस्यलाई हानि पुग्ने विभिन्न गतिविधि भइरहेका कैफियत फेला पारेको उल्लेख गरेको थियो । संस्थाले चितवनको गाई फार्म र ललितपुरको डेरी उद्योग स्थापनादेखि नै निरन्तर घाटामा छ ।,

सहकारीले सञ्चालन गरेका गाई फार्म र डेरी उद्योगमा अस्वाभाविक रूपमा सञ्चालन खर्च देखाउने र त्यसबाट सञ्चालक तथा व्यवस्थापकले लाभ लिने गरेको अनुसन्धानबाट देखिएको थियो ।

सहकारीले लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस एजुकेसन फाउन्डेसन प्रालि, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी प्रालि, भैरवकुण्ड हाइड्रोपावर लिमिटेड र वेब प्रोडक्सन प्रालिमा सेयर लगानी गरेको छ । भैरवकुन्डमा गरेको लगानी डुबेको छ । आयोजना बन्द भइसकेको छ ।

यस्तै लालीगुराँस सहकारीले विभिन्न कम्पनीमा लगानी गरेको भनेर आफ्नो वेबसाइटमा नै उल्लेख गरेको थियो । लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस राष्ट्रिय उच्च मावि तथा कलेज प्रालि, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी प्रालि, भैरवकुन्ड हाइड्रोपावर प्रालि, श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, श्री लालीगुराँस डेरी प्रोसेसिङ उद्योग, श्री लालीगुराँस एजुकेसन फाउन्डेसन प्रालि, श्री

लालीगुराँस जनस्वास्थ्य कोअपरेटिभ लिमिटेडलाई संस्थाले साझेदार कम्पनीका रूपमा राखेको छ।

लालगुराँसको सेयर पूँजी ५७ करोड ५३ लाख ५७ हजार छ । निक्षेप दायित्व ५ अर्ब ९१ करोड ३७ लाख ७१ हजार रूपैयाँ देखिएको छ ।

संस्थाको कुल कारोबार ८ अर्ब ७७ करोड ३ लाख १९ हजार रहेको उसले सहकारी विभागमा बुझाएको विवरणमा उल्लेख छ । संस्थाले ३ अर्ब ४२ करोड ३४ लाख ६९ हजार मात्रै सदस्यहरूलाई लगानी गरेको देखिन्छ ।

यो पनि :

समस्याग्रस्त कान्तिपुर, लालिगुराँश सहकारीले बुझाएनन् कर, तिर्न विभागको ‘अल्टिमेटम’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend