सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

यती ग्रुपको ८० करोड लगानीमा गोकर्ण अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणाधीन, एक वर्षमा सकिने

यती ग्रुपको ८० करोड लगानीमा गोकर्ण अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणाधीन, एक वर्षमा सकिने

काठमाडौं । यती थामसेर्कु ग्रुपले सञ्चालन गरिरहेको गोकर्ण फरेस्ट रिसोर्टले ८० करोड रुपैयाँ लगानीमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बनाइरहेको छ । सम्मेलन केन्द्रको अहिलेसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ ।

अहिलेसम्म स्वपुँजी (इक्विटी) २० र बैंकको ऋण ३३ प्रतिशत खर्च भइसकेको छ । निर्माणाधीन सम्मेलन केन्द्र आगामी वर्ष सन् २०२५ को अप्रिलसम्म सञ्चालनमा ल्याउने तयारी गरेको छ । यसअघि यो वर्षको अप्रिलदेखि सञ्चालनमा ल्याउने रिसोर्टले जानकारी गराएको थियो । सम्मेलन केन्द्र निर्माण एक वर्ष पछि धकेलिएको छ ।

ढिलाइ र निर्माण सामाग्रीको भाउ बढेकाले लागत थपिन सक्ने संभावना रहेको रिसोर्टले जानकारी दिएको छ ।

निर्माणाधीन सम्मेलन केन्द्रमा ठूला र साना गरी धेरै हल रहनेछन् । कुनै समस्या आएन र निर्माणजन्य सामग्रीको भाउ नबढे निर्धारित समय र तोकिएको लगानीमा सम्मेलन केन्द्र निर्माण सम्पन्न हुने रिसोर्टले स्पष्ट पारेको छ । सम्मेलन केन्द्रले ७३ करोड ५० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

रिसोर्टले ९ महिनामा ३४ करोड ४० लाख रुपैयाँ बराबर व्यापार गरेको छ । २०२३ मा रिसोर्टले ४२ करोड रुपैयाँ व्यापार गरेको थियो । यसैगरी २०२२ मा ३३ करोड ९० लाख, २०२१ मा १२ करोड ७० लाख, २०२० मा २६ करोड २० लाख र कोभिडअघि २०१९ मा ४२ करोड ४० लाख रुपैयाँ व्यापार गरेको थियो ।

सर्वोच अदालतले सर्भिस चार्ज हटाउन निर्देशन दिएपछि ९ महिनामा अपरेटिङ प्रफिट मार्जिन १२ प्रतिशत घटेको छ । यसअघि २३ प्रतिशत थियो । यस्तै सम्मेलन केन्द्रका लागि बैंकबाट ऋण लिनुपर्दा यसको असर परेको रिसोर्टले जनाएको छ ।

पर्यटक आगमन बढेसँगै अकुपेन्सी दर पनि बढेको रिसोर्टले जनाएको छ । यो वर्ष अकुपेन्सी दर बढेर ४३ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ३६ प्रतिशत मात्र थियो । कोरोना महामारीअघि अकेपेन्सी दर ७० प्रतिशत बढी थियो । होटलको कोठाको औसत आम्दानी बढेर १८ हजार ९ सय ५३ रुपैयाँ पुगेको छ । कोरोनाअघि १२ हजार ३ सय ५९ रुपैयाँ मात्र थियो ।

सन् १९९५ मा स्थापना भएको बुटिक रिसोर्टमा १ सय कोठा छन् । रिसोर्ट यती थामसेर्कु ग्रुपले भाडामा लिएर सञ्चालन गरिरहेको छ । रिसोर्टमा ४ सय ७० हेक्टर जमिनमा छ । गोकर्णमा गल्फ, हर्स राइडिङ र फरेस्ट वाक सेवा छन् ।

यती एयरलाइन्स र तारा एयरलाइन्स सञ्चालन गरिरहेको ग्रुपले विभिन्न दुर्गम क्षेत्रमा होटल सञ्चालन गरिरहेको छ । ग्रुपले ट्रेकिङ, ट्राभल एजेन्सी, एक्सपिडिसन र लक्जरी होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको छ। नेपाल ट्रस्टले यती ग्रुपलाई गोकर्ण रिसोर्ट भाडामा सञ्चालन गर्न दिएको हो । रिसोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलोमिटरको दुरीमा छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend