logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • रसुवागढी जलविद्युत आयोजना बन्यो, छैन प्रसारण लाइन, कहिले होला बिजुली उत्पादन ?

    रसुवागढी जलविद्युत आयोजना बन्यो, छैन प्रसारण लाइन, कहिले होला बिजुली उत्पादन ?

    2.8K
    Shares
    रसुवागढी जलविद्युत आयोजना बन्यो, छैन प्रसारण लाइन, कहिले होला बिजुली उत्पादन ?

    काठमाडौँ । सार्वजनिक तथा निजी लगानीको १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको काम सकिएको छ । आयोजना निर्माण सम्पन्न भए पनि नेपाल विद्युत प्राधिकरणले २२० केभी चिलिमे त्रिशूली प्रसारण लाइनका साथै चिलिमे हबमा सबस्टेशन बनाउन ढिलाइ गर्दा आयोजनाबाट बिजुली उत्पादन अनिश्चित भएको छ ।

    प्रसारण लाइन र सबस्टेशन निर्माण नभएपछि आयोजनाको विभिन्न परीक्षण हुन नसकको विकासकर्ता रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले जनाएको छ ।

    यसअघि चैतभित्र बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको थियो । २२० केभी चिलिमे त्रिशूली प्रसारण लाइनअन्र्तगत चिलिमे हब सवस्टेशन पनि तयार नहुँदा विद्युत उत्पादन अनिश्चित भएको छ ।

    आयोजनाको इलेक्ट्रोमेकानिकलको केही पार्टको परीक्षण गर्न बाँकी रहेको छ । चिलिमे हब सबस्टेशनबाट १३२ केभीबाट व्याक चार्ज लिइ गर्नुपर्ने वेट कमिसनको परीक्षण बाहेक अन्य काम सकिएको कम्पनीले जनाएको छ ।

    आयोजनाको समष्टिगत भौतिक प्रगति सत्प्रतिशत रहेको छ । गत पुसमै बाँधमा पानी भरेर सफल परीक्षण सकिएको छ । माघदेखि सिभिल संरचना, हाइड्रोमेकानिकल गेट र इलेक्ट्रोमेकानिकल उपकरणको चरणवद्ध परीक्षण भइरहेको रसुवागढीले जनाएको छ । यसैगरी ४ किलोमिटर लामो सुरुङमा पानी पठाएर गरिएको परीक्षण पनि सफल भएको छ ।

    समय थपिएसँगै आयोजनाको लागत बढेर १८ अर्ब ४७ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । यो लागत निर्माण अवधिको ब्याजबाहेक हो । निर्माण सुरु हुँदा १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ (निर्माण अवधिको ब्याजबाहेक) लागत अनुमान गरिएको थियो ।

    निर्माण अवधिको ब्याजसमेत थप्दा आयोजनाको लागत अझ बढ्ने देखिएको छ । यसअघि आयोजनाको लागत बढेर निर्माण अवधिको ब्याजबाहेक १७ अर्ब ५६ करोड रुपैयाँ थियो । आयोजना ढिलाइ हुँदा लागत बढेर स्वपुँजी र ऋण संरचना परिवर्तन भएको छ । पहिला स्वपुँजी र ऋण अंश बराबर थियो । लागत थपिएपछि ६० प्रतिशत ऋण र ४० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको कम्पनीले जनाएको छ ।

    आयोजनाको लागत बढ्दै गएपछि रसुवागढीले कर्मचारी सञ्चय कोषसँग पछिल्लो पटक पुरक ऋण सम्झौता गरेको छ ।

    भूकम्प, नाकाबन्दी र बाढीले गर्दा आयोजनाको समय थपिएको र डलर महंगो भएका कारण लागत बढ्न गएको कम्पनीले जनाएको छ । निर्माणको चरणमा आयोजनाको लागत ४ अर्ब ७८ करोड रुपैयाँ थपिएको छ ।

    आयोजना सञ्चालनबाट ६१ करोड ३८ लाख ७५ हजार युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले बिजुली बेचेर वार्षिक ३ अर्ब २५ करोड आम्दानी गर्ने छ । रसुवागढी आयोजना २०७६ फागुन ७ मा सक्ने लक्ष्य थियो । गत वर्ष कम्पनी ४ करोड २९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । प्रति सेयर आम्दानी ०.६३ पैसा, प्रति सेयर कितावी मूल्य घटेर ९४.४२ रुपैयाँ मात्र छ ।

    त्यसपछि पटक–पटक आयोजनाको म्याद थप हुँदै आएको छ । सरकारले गत आर्थिक वर्ष सक्ने लक्ष्य लिएको थियो । यसअघि २०७९ असारबाट बिजुली उत्पादन गर्ने लक्ष्य पछि धकेलिएपछि ६ महिना समय थपेर २०७९ पुस पुर्याइएको थियो । पुसमा पनि सम्भव नभएपछि फेरि तीन महिना थपेर चैतमा उत्पादन थाल्ने नयाँ कार्यतालिका सार्वजनिक भएको थियो ।

    प्रत्येक तीन महिनामा ब्याज सावाँमा पुँजीकरण हुँदै आएको छ । सञ्चय कोषले रसुवागढीसँग ९.५ प्रतिशत ब्याज लिँदै आएको छ ।

    सन् २०१४ बाट आयोजना निर्माण सुरु भएको हो । आयोजनाको ४ हजार १ सय ८५ मिटर सुरुङ २०७६ भदौ ४ बाट तयार भइसकेको छ । आयोजना निर्माण तीन लटमा भएको छ । सुरुङलगायत हाइड्रोमेकानिकल संरचना निर्माण चिनियाँ ठेकेदार कम्पनी चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई) ले गरेको हो ।

    दोस्रो लटमा इलेक्ट्रोमेकानिकल उपकरणको काम भारतको भ्वाइथ हाइड्रो र प्रसारण लाइनको काम रोयल कन्स्ट्रक्सन कम्पनीले बाँकी काम सक्ने जिम्मा पाएको थियो । उसले पनि बाँकी काम सम्पन्न गरेको छ । कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ छ ।

    आयोजनामा विद्युत प्राधिकरणको १८, चिलिमे जलविद्युत कम्पनी लिमिटेड ३२.७९, सर्वसाधारण १९.५, रसुवाका स्थानीयबासिन्दाको १५ र ऋणदाता संस्थाका कर्मचारीलाई १० प्रतिशत स्वामित्व छुट्ट्याइएको छ ।

    नदीको बहावमा आधारित (आरओआर) आयोजनामा ३८ मेगावाट क्षमताका तीनवटा टर्बाइन जडान भएका छन् । आयोजना नेपाल–चीन सीमा नजिक गोसाइँकुण्ड गाउँपालिकामा पर्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend