काठमाडौं। डेढ वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को निर्वाचनमा वरिष्ठ उपाध्यक्षको पदमा अन्जन श्रेष्ठ र रामचन्द्र संघई आमनेसामने भएका थिए।
वरिष्ठ उपाध्यक्षको त्यो प्रतिस्पर्धामा अन्तिममा श्रेष्ठले बाजी मारे । श्रेष्ठको विजयले महासंघको ५७ औं वार्षिक साधारणसभाबाट संघई महासंघको वरिष्ठ उपाध्यक्ष बन्ने आकांक्षा पूरा हुन् सकेन।
विगतको निर्वाचनले त्यो कार्यकालका लागि वरिष्ठ उपाध्यक्षको बाटो बन्द गरे पनि सिंगो महासंघको नेतृत्व गर्ने वेटिंग चेयरमेन अर्थात वरिष्ठ उपाध्यक्ष बन्ने उनको आकांक्षा घटेको छैन। बरु आगामी निर्वाचनलाई विगतमा सिकेका पाठबाट आफ्ना कमी कमजोरी सुधार्ने र हर हालतमा महासंघको नेतृत्वमा जाने तयारी संघईले अगाडी बढाईसकेका छन् ।
आगामी साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष पदमा लड्ने तयारी स्वरुप संघई प्यानल बनाउन जुटिरहेका छन्। उनको प्यानलको बलियो सारथी अन्जन हुन् गत निर्वाचनमा उनैलाई पराजित गरेका उनले संघईलाई साथ दिएर राजनीतिमा स्थायी शत्रु हुँदैन भन्ने कुरालाई समेत पुष्टि गरेका छन् ।
संघई निकट स्रोतका अनुसार आन्तरिक रुपमा करिब करिब प्यानल तयार भइसकेको छ। चुनावी जोडघटाउ केही नभएमा संघईको प्रमुख सारथी प्रवलजंग पाण्डे बन्ने निश्चित भइसकेको स्रोतको दाबी छ।
सिटिजन्स बैंकका अध्यक्ष तथा लोमस ग्रुपका कार्यकारी निर्देशक रहेका पाण्डे एशोसिएटतर्फबाट उपाध्यक्षका उम्मेद्वार हुनेछन्। पाण्डे महासंघको राजनीतिमा परिपक्व देखिन्छन्। आफ्नो बुबा प्रदीपजंग पाण्डेलाई महासंघको अध्यक्ष बनाउँदा महासंघको राजनीति जोडघटाउ स्पष्ट रुपमा बुझेका प्रवल संघईका बलिया खम्बा बन्नेछन्।
पूर्व अध्यक्ष भवानी राणाको कार्यकाल सफल बनाउन महत्वपूर्ण भूमिका निभाएका प्रवल संघईको चुनावका प्रमुख रणनीतिकारसमेत हुन्। संघईका तर्फबाट वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे उम्मेद्वार बन्ने निश्चित भइसकेको छ।
नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष, कत्था उद्योग संघका अध्यक्ष, नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष रहेका घिमिरे महासंघको राजनीतिमा पूराना खेलाडी हुन्।
पेट्रोलियमदेखि जलविद्युतसम्म लगानी गरेका घिमिरेलाई राखेर संघईले वस्तुगततर्फ बलियो बनाउन खोजेका हुन्। अन्जनसँगको चुनावमा संघई वस्तुगतमा कमजोर देखिएका थिए। संघईका लागि जिल्ला नगर उपाध्यक्ष भने छान्न कठिन भएको छ।
स्रोतका अनुसार संघईले कमल श्रेष्ठलाई जिल्ला नगरको उपाध्यक्ष बनाउन चाहेका छन्। कमल सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् भने यसअघि संघईको निर्वाचनमा जिल्लानगरका सदस्यलाई ‘म्यानेज’ गर्ने व्यक्ति हुन्। स्रोतका अनुसार कमलको नाममा प्रवल र अन्जन मान्न तयार छैनन्। सँगै संघईलाई समर्थन गर्ने पूर्व अध्यक्षहरुले समेत कमलको नाममा विरोध जनाइसकेका छन्।
तर, संघईले भने कमललाई ल्याउँदा फरक नपर्ने भन्दै प्यानलमा ल्याउन दबाब दिइरहेका छन्। स्रोतका अनुसार कमलको विकल्पमा अरु व्यक्तिहरु खोज्ने काम भइरहेको छ। तर, अहिलेसम्म जिल्लानगर उपाध्यक्षको उम्मेद्वार भेटाउन संघई समूहलाई कठिन भएको छ। संघईको तर्फबाट कार्यकारिणी सदस्य कल्पना गैरे उम्मेद्वार बन्न खोजेकी छिन्।
रियल स्टेट कारोबारबाट राम्रो व्यवसायिक हैसियत बनाएकी गैरेलाई उपाध्यक्ष बनाउने निश्चित भइसकेको छैन। स्रोतका अनुसार संघई, अन्जन र पाण्डे गैरेलाई ल्याउन चाहिरहेका छैनन्। गैरे महासंघको राजनीतिमा आएको डेढ दशकजति भइसकेको छ। ‘महासंघको गरिमा अनुसार र जिल्लाको उद्योगीको समस्या बुझ्नसक्ने ल्याकत भएको व्यक्ति चाहिन्छ,’ संघईसँग निकट भएका एक उद्योगीले सुनौलो नेपालसँग भने, ‘त्यस्तो व्यक्ति अहिलेसम्म भेट्न सकिएको छैन।’
संघईसँगै वरिष्ठ उपाध्यक्षका बलिया प्रतिस्पर्धी हुन्, हेमराज ढकाल। ढकाल महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालका आफ्नै भाई हुन्। तर, हेमराजले आफ्नो चुनाबमा दाई चण्डीलाई अगाडि ल्याउने मुडमा छैनन्। यसअघिको उम्मेद्वारीले हेमराज आफ्नै बलबुताले चुनाव लड्ने मनस्थितिमा रहेको स्पष्ट हुन्छ। हेमराज अहिले वस्तुगततर्फबाट उपाध्यक्ष हुन्।
हेमराजले पनि १५ महिनापछि हुने चुनावका लागि प्यानल तयार पारिसकेका छन्। प्यानल तयार पारेर आफ्नो पक्षमा नतिजा पार्न उनले रणनीति बनाइरहेका छन्। हेमराजको प्यानलबाट वस्तुगत उपाध्यक्षमा नरेश श्रेष्ठ उम्मेद्वार बन्ने निश्चित भइसकेको छ।
नरेश फेल्ट उद्योगी हुन् भने पछिल्लो समयमा हस्पिटालिटीमा समेत आक्रामक रुपमा लगानी गरिरहेका छन्। नक्सालमा रहेको होलिडे इन होटल एक्सप्रेस र स्वर्णिम बुटिक होटलमा उनको लगानी छ। नरेश वस्तुगततर्फ बलिया उम्मेद्वार हुन्। यसअघिको निर्वाचनमा सर्वाधिक ९० मत नरेशले पाएका थिए। वस्तुगततर्फ नरेशको लोकप्रियताकै कारण हेमराजले उनलाई आफ्नो प्यानलमा ल्याएका हुन्। वस्तुगतबाटै उपाध्यक्ष बनेका हेमराजले चुनावमा राम्रो नतिजा ल्याउनका लागि सदस्यमा पनि बढी मत ल्याएका नरेशलाई छानेका हुन्।
हेमराजले जिल्लानगरमा राजेन्द्र राउतलाई उपाध्यक्षको उम्मेद्वार बनाउँदैछन्। राउत विराटनगरका चिरपरिचित उद्योगी हुन्। पूराना र अनुभवी उद्योगी राउतले सिमेन्ट, जुत्ताचप्पल, हस्पिटल लगायतमा लगानी गरिरहेका छन्। उनी मारुती सिमेन्ट र अन्नपूर्ण सिमेन्टका लगानीकर्ता हुन्।
हेमराजले एशोसिएट उपाध्यक्षमा देशबन्धु थापालाई अघि सार्दैछन्। सुकेधारामा पाँचतारे होटल मर्क्युर बनाइरहेका थापाले सुनसरीको इटहरीमा पनि होटल सञ्चालनमा ल्याउँदैछन् । महासंघको पर्यटन तथा हवाइ समितिका अध्यक्ष पनि हुन् । एशोसिएटमा बलिया उम्मेद्वारको रुपमा चिनिन्छन्।
महासंघमा संघई र ढकालवाहेक अरु प्यानलनै बनाएर चुनावी मैदानमा जाने सम्भावना अत्यन्तै कम छ। महासंघकी एशोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा जान महत्वाकांक्षा पालेकी छिन्। यसअघि संघईको प्यानलबाट चुनाव जितेकी ज्योत्सना उम्मेद्वार बन्ने सम्भावना कम छ। यस्तै जिल्लानगर उपाध्यक्ष सुरकृष्ण श्रेष्ठ जिल्लानगर उपाध्यक्षमै दोहोरिन चाहेका छन्।
यो पनि :
१५ महिनाअघि नै उद्योग वाणिज्य महासंघमा चुनावी रौनक, फरक उद्देश्य राखेर हुन थाल्यो पार्टी