काठमाडौं । अर्थमन्त्री डा स्वर्णीम वाग्लेले सुशासनको निर्मम एजेण्डा बोकेर अघि बढेको सरकारले जनतालाई धोका दिन नसक्ने स्पष्ट पारेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री वाग्लेले आफुलाई केहिले व्यापारी पोस्यो भन्ने आरोप लगाएको भन्दै सुशासनको कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको दुई महिनामा धोका दिन नसक्ने बताए । उनले सांसदहरुले आफ्नो गरिमा आफै राख्नुपर्ने धारणा राखे ।
आफुले दुई रुपैयाँ मात्रै बदमासी भएको पुष्टि भए सार्वजनिक जीवन नै त्याग्न तयार रहेको भन्दै उनले यो नैतिक आँट आफुमाथि प्रश्न उठाउने सांसदहरुलाई पनि प्राप्त होस् भन्दै जवाफ दिए । आफुमाथि प्रश्न उठाउनेहरुका काण्डबारे अनभिज्ञ नरहेको उल्लेख गर्दै मन्त्री वाग्लेले सवै काण्डमाथि छानविन हुने धारणा राखे ।
त्यस्तै मन्त्री वाग्लेले बजेटमा सामाजिक सुरक्षाका विद्यमान कार्यक्रमहरू एउटा पनि नकाटेको बताए । अनुशासनमा बाँधिएर आर्थिक गतिविधिलाई गति दिने उदेश्यका साथ आगामी आर्थिक बर्षको बजेट ल्याइएको उनले बताए ।
उनले निजी लगानी सुस्त रहेको र अर्थतन्त्र मन्दीको अवस्थाबाट गुज्रिरहेको वर्तमान परिस्थितिमा माग पुनर्जीवित गर्ने कार्यक्रम ल्याउनु अपरिहार्य रहेकाले यसलाई केवल मध्यम वर्गमुखी वा सहरी वर्गमुखी भनेर व्याख्या गर्नु यथार्थपरक नहुने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस