काठमाडौं । नामी ग्रुप अफ कम्पनीजले यही जेठ ३० गते शनिबार काठमाडौँको जोरपाटीस्थित नामी इन्टरनेशनल स्कुल परिसरमा ‘नामी ओपन हाउस कार्निभल २०८३’ आयोजना गर्ने भएको छ ।
शिक्षा, संस्कृति र मनोरञ्जनको भव्य संगमका रुपमा रहेको यस कार्यक्रममा ८८ हजारभन्दा बढी व्यक्तिको सहभागिता हुने अनुमान गरिएको आयोजकहरुले जनाएका छन् ।
शिक्षा, नवप्रवर्तन, युवा सशक्तीकरण तथा सांस्कृतिक अभिव्यक्तिलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यस कार्निभलमा विद्यार्थी, अभिभावक, शिक्षक, पूर्वविद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।
यस कार्निभल अन्तर्गत शैक्षिक जानकारीमूलक प्रदर्शनी, करियर मार्गदर्शन, अनुभव र सिकाइसम्बन्धी गतिविधिहरु, सांस्कृतिक कार्यक्रम तथा युवामैत्री विविध आकर्षणहरू समावेश गरिने भएको पनि बताइएको छ । यस कार्यक्रमबाट ज्ञान, सीप र सिर्जनात्मकता आदानप्रदानको अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।
कार्निभलको विशेष आकर्षणका रूपमा नेपालका लोकप्रिय सांगीतिक समूह ‘कुमा सागर एण्ड द ख्वपा’, ‘द हुलाकी’ र ‘भीजेडएन’ का सांगीतिक प्रस्तुति रहनेछन् । साथै, यस अवसरबाट नयाँ पुस्ताका प्रतिभावान कलाकारहरूले पनि आफ्नो कला प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।
सन् २०१२ देखि शिक्षा क्षेत्रमा सक्रिय नामी ग्रुप अफ कम्पनीजले विद्यालय, कलेज, स्नातक तथा स्नातकोत्तर तहमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । आधुनिक शिक्षण पद्धति, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यमार्फत संस्थाले नेपाली शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएको छ ।
आयोजकका अनुसार ‘नामी ओपन हाउस कार्निभल २०८३’ शिक्षा र मनोरञ्जनलाई जोड्ने एक विशेष अवसरका रूपमा स्थापित हुनेछ, जसले युवाको क्षमता अभिवृद्धि, सांस्कृतिक सद्भाव र सामुदायिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस