काठमाडौं । निरन्तर धेरै कर बुझाउने सूचीमा परेर सरकारबाट सम्मान पाउँदौ आएको बहुराष्ट्रिय चुरोट उत्पादक सूर्य नेपाल प्रालि यस पटक बढी कर तिर्नेको सूचीमा परेन् । गत वर्षसम्म सूर्य नेपाल बढी कर तिर्नेको उद्योगहरुको सूचीमा पर्दै आएको थियो ।
आन्तरिक राजस्व विभागको आर्थिक वर्ष २०७९/०८० को आय विवरणअनुसार विभिन्न विधामा सर्वाधिक कर तिर्ने १६ कम्पनी र व्यक्तिलाई उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सम्मान गरेका छन् ।
गत वर्षसम्म सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल भएको थियो । सूर्य नेपाल २०७५ साउनदेखि २०८० असार मसान्तसम्म भ्याट विवरण र त्यसबमोजिम कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएको करदाता भएको थियो ।
त्यही आधारमा गत आर्थिक वर्षमा सबैभन्दा बढी भ्याट दाखिला गर्नेमा सूर्य नेपाल भएको थियो । तर, यो वर्ष परिदृष्य फेरियो, सूर्य नेपालको सट्टा होङसी शिवम् सिमेन्ट लिमिटेड सबैभन्दा बढी भ्याट बुझाउने संस्थाको रुपमा सम्मान पाएको छ । यस्तै बढी कर बुझाउनेमा सरकार स्वामित्वको नेपाल टेलिकम भएको छ ।
सरकारले विभिन्न १६ विधामा बढी कर बुझाउनेको सूची सार्वजनिक गर्दा यो पटक सूर्य नेपाल अटाएन । तर, एकछत्र चुरोट बजारमा राज गरिरहेको सूर्य नेपालको व्यापार र सेयरधनीलाई दिने लाभांश दर भने लोभलाग्दो छ । तर, पनि किन बढी कर तिर्ने सूचीबाट बाहिरिन पुग्यो ?
गत वर्ष २९ अर्बको चुरोट व्यापार
सूर्य नेपालको गत वर्ष चुरोट व्यापार ७ प्रतिशत बढेको छ । गत वर्ष सूर्य नेपालले २८ अर्ब ९९ करोड रुपैयाँको विभिन्न ब्राण्डको चुरोट व्यापार गरेको छ । गत वर्ष सूर्य नेपालले १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ व्यापार बढाएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
अघिल्लो वर्ष चुरोट व्यापार १०.२९ प्रतिशत बढेर २७ अर्ब १ करोड रुपैयाँ कारोबार गरेको थियो । २०२१ मा उद्योगले २४ अर्ब ४९ करोड रुपैयाँको चुरोट व्यापार गरेको थियो । २०२० मा उद्योगको चुरोट व्यापार २४ अर्ब ४७ करोड रुपैयाँ थियो । यस्तै २०१९ मा २५ अर्ब १३ करोड ७० लाख र २०१८ मा २४ अर्ब २२ करोड रुपैयाँको व्यापार गरेको थियो ।
सूर्य नेपालको चुरोट व्यापार बढ्दै गएको सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ । यति मात्र हैन अघिल्लो वर्ष गरेको नाफाबाट सूर्य नेपालले सेयरधनीलाई १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश घोषणा गरेको थियो । उद्योगले यो वर्ष लाभांश घोषणा गरेको छैन । यद्यपि, लगानीकर्तालाई लाभांश दिँदै आएको छ ।
२०२१ मा ९ अर्ब ४१ करोड रुपैयाँ लाभांश दिएको थियो । यस्तै २०२० मा उद्योगले ९ अर्ब ८५ करोड र २०१९ मा ९ अर्ब १३ करोड रुपैयाँ लाभांश दिएको थियो ।
चुरोटको करमा वृद्धि भए पनि नयाँ ब्रान्ड ल्याएका कारण उद्योगको व्यापार बढेको उद्योगले जनाएको छ । चुरोटका साथै सूर्य नेपालले सलाइ र अगरबत्ती पनि उत्पादन गर्दै आएको छ ।
पछिल्लो समय सरकारले अन्तःशुल्क र स्वास्थ्य जोखिम करका कारण चुरोट उद्योग झनै करको बोझमा परेको छ । यस्तै खैनी, गुटखालगायत अवैधरूपमा नेपाल भित्रिएका चुरोटले नेपाली उद्योगलाई समस्यामा पार्दै आएको उद्योगले जनाएको छ ।
सूर्य नेपालले सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, शिखर फिल्टर किङ्स, शिखर आइस रस, नौलो, खुकरी फिल्टर, पाइलट फिल्टर, सूर्य फ्युजन, स्टिकर स्पाइस रस, बिजुली र चौतारी ब्रान्डका चुरोट उत्पादन गरिरहेको छ।
सन् १९८६ मा स्थापना भएको सूर्य नेपालले चुरोट उत्पादन थालेको ३५ वर्ष भइसकेको छ । सूर्यमा आइटिसी इन्डिया लिमिटेडको ५९ प्रतिशत सेयर छ । ३९ प्रतिशत नेपाली व्यक्तिगत लगानीकर्ताको स्वामित्व छ । यस्तै २ प्रतिशत ब्रिटिस अमेरिका टोबाको लिमिटेडको स्वामित्व छ ।
यो पनि :
सूर्य नेपालबाट मात्रै पूर्वराजा ज्ञानेन्द्रले कति पाउँछन् लाभांश ?
पाँच वर्षमा सेयरधनीलाई आधा खर्ब लाभांश दिएको सूर्य नेपालको यो वर्ष कति ?
बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा गर्यो २९ अर्ब कारोबार