काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण मुलुक बन्न नसकेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व बिना देश विकास गर्न सम्भव नरहेको बताए । उनले बहुदलीय व्यवस्था स्थापनाका ३५ वर्षहरुमा २८ भन्दा बढी प्रधानमन्त्री पाइसके पनि राजनीतिक स्थायित्व नहुँदा विकास हुन नसकेको बताए ।
उनले हामी नेपालको विकास र समृद्धिको चाहना गर्ने नेपाली जनताहरुले अहिलेसम्म राजनीतिक स्थायित्वको आधार तयार गर्न नसकेको बताए । उनले अब मुलुकलाई निर्णायक राष्ट्रिय शक्तिको खाँचो रहेको र समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य नेकपा एमालले मात्रै पूरा गर्नसक्ने उल्लेख गरे ।
नेकपा एमालेले मात्रै मुलुकमा राजनीतिक स्थायित्वको सुनिश्चितता दिनसक्ने बताए । नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग रहेको बताए ।
महासचिव पोखरेलले एमाले देश बनाउने यात्रामा रहेको र देश बनाएर छोड्ने प्रतिवद्धता जनाए । उनले नेकपा एमालेले नै राष्ट्रको स्वाधिनता र स्वाभिमान कायम राख्ने बताए । उनले समाजमा अराजकता मच्चाए र निराशा छरेर देश बन्न नसक्ने जिकिर गरे ।