काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सही नेतृत्व र सही व्यवस्था नपाउँदा देश बन्न नसकेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सही नेतृत्व र सही व्यवस्था नहुँदा देश बन्न नसकेको जिकिर गरे । उनले राजनीतिक दलका मानिसहरुलाई न्यायाधीशमा, अख्तियारमा नियुक्ति गर्दा न्याय मरेको जिकिर गरे ।
उनले सरकारी निकायहरुमा कांग्रेस, एमाले, माओवादीले भाग लगाएर नियुक्ति गरिरहेको बताए । सर्वोच्च अदालतमा कांग्रेस, एमाले, माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन नसकेको दाबी गरे ।
उनले भने, ‘देश अहिलेसम्म बन्न नसक्नुको कारण हामीले ठिक नेतृत्व पाएनौँ । यिनीहरुले ल्याएको व्यवस्था ठिक भएन । आज हेर्नुस् त मान्छे तिनै छन् । न्यायाधीश उनीहरुले नियुक्ति गर्ने, कांग्रेस, एमाले, माओवादी भाग लगाएर न्यायाधीश नियुक्ति गर्दछन् । भ्रष्टाचार गर्यो भने कारबाही गर्ने निकाय अख्तियारमा कांग्रेस, एमाले, माओवादीले भाग लगाएर नियुक्ति गरेका छन् । संवैधानिक अंगहरुमा चाहे त्यो मानव अधिकार आयोग होस्, अरु कुनैपनि आयोग हुन्, तिनीहरुमा दलको भागबण्डाबाट नियुक्ति हुन्छ । सल्लाहबाट नियुक्ति हुन्छ ।
सर्वोच्चमा अहिले न्यायाधीशको पद खालि भएको छ । कांग्रेस, एमाले र माओवादीको बीचमा सल्लाह मिल्न सकेको छैन । उनीहरु दलाली गरिरहेका छन् । त्यहाँ न्यायाधीश होइन, कांग्रेस, एमाले र माओवादीको मान्छे त्यहाँ लगेर राख्छन् । कसरी न्याय हुन्छ देशमा । नेता पनि ठिक छैन, यिनीहरुले ल्याएको व्यवस्था पनि ठिक छैन । नेतृत्व पनि र यो व्यवस्था पनि हामीले परिवर्तन गर्नुपर्नेछ ।’
अध्यक्ष लिङदेनले अब सिंगो देश एउटा निर्वाचन क्षेत्र हुनुपर्ने र जनता स्वयंले प्रधानमन्त्री चुन्न पाउनुपर्ने बताए । उनले सरकारलाई विदेशीले कहिले लडाउने हो भनेर डर पैदा भइरहेको बताए ।