काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसलाई हप्तामा एक पटक प्रधानमन्त्री बनिदिन आग्रह गर्ने गरेको बताएका छन् ।
बिहीबार कीर्तिपुरको उपनिर्वाचनमा चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अध्यक्ष दाहालले हप्तामा एक पटक कांग्रेसलाई प्रधानमन्त्री बन्न आग्रह गर्ने गरेको बताए । उनले नेपाली कांग्रेस इमान्दारितापूर्वक वर्तमान सरकारलाई तीन वर्षसम्म अघि बढाउन चाहेको बताए । उनले सरकार तलमाथि गर्ने नभइ आफूहरु परिणाम दिनेगरी काम गरिरहेको बताए । उनले सरकारलाई स्थिर बनाउन कांग्रेस लागेको बताए ।
उनले भने, ‘हाम्रो दुश्मन कोही पनि छैन । न प्रचण्ड हाम्रो दुश्मन न त केपी ओली हाम्रो दुश्मन हो । हामी अहिले केपी ओलीसँगै सरकारमा छौँ । हामी इमान्दारितापूर्वक यो सरकारलाई तीन वर्ष लिएर जान चाहन्छौँ । किनकी हामी सरकार तलमाथि गर्ने काम गर्न चाहँदैनौँ । हामी परिणाम दिन चाहन्छौँ । अहिले भर्खर प्रचण्डले माथि आएर बोलेर जानुभएछ । प्रचण्डले भर्खर भनेर जानुभयो ।
यो यो कारणले गर्दा सरकार बदलियो । नेपाली कांग्रेस अहिले पनि संसदको सबैभन्दा ठूलो पार्टी हो । अहिले पनि प्रचण्डले हप्तामा एक पटक कांग्रेसलाई खबर पठाउनु हुन्छ, लौ न प्रधानमन्त्री बनिदिनुपर्यो । यो खबर पठाउने काम पहिला अर्कैले गर्दथ्यो । कांग्रेस संसदको सबैभन्दा ठूलो पार्टी हो अहिले पनि । उपद्रो गर्ने हो, चलखेल गर्ने हो भने सरकार तलदेखि माथि लैजाने संख्या कांग्रेससँग छ । प्रधानमन्त्री बन्न नसक्ने भएर हामीले प्रचण्ड र ओलीलाई प्रधानमन्त्री मानेका होइनौँ । यो बेलामा देशलाई स्थिर सरकार दिनेकुरा महत्वपूर्ण हो ।’
महामन्त्री थापाले सबै एक भएर बेरोजगारी, गरिबीको बिरुद्धमा लड्न आवश्यक रहेको बताए ।