काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले चार वटा प्रदेशको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन मापन सम्बन्धमा अध्ययन गर्न कर्णाली, लुम्बिनी, मधेस र कोशी प्रदेशमा अध्ययन तथा भ्रमण गर्ने निर्णय गरेको हो । बालबालिकाका संगठनहरु, बालबालिकाका लागि स्थानीय तथा प्रदेश सरकारले बनाएका ऐन र तिनको कार्यान्वयनको अवस्था लगायत विषयमा अध्ययन गर्न समितिले स्थलगत भ्रमण गर्न लागेको समिति सभापति तुलसाकुमारी दाहालले बताइन् ।
उनकाअनुसार समितिले स्थानीय तहहरुमा संगठित भएका बालबालिकाहरुसँग क्लवहरु विभिन्न जाती, भाषा र लिङ्गको आधारमा छन् कि छैनन् भने छुट्टै छलफल गर्नेछ । समितिले बालबालिकासम्बन्धी स्थानीय तहहरुले बनाएको ऐन र ऐनको कार्यान्वयनको अवस्थाका बारेमा स्थानीय तहका सामाजिक तथा बालबालिका शाखा, शिक्षा शाखा र सरोकारवालाहरुसँग छलफल गर्ने सभापति दाहालले बताइन् । उनले कोशी प्रदेशमा मुस्लिम समुदायका बालबालिकाको अवस्था र मधेस प्रदेशमा मधेसी समुदायका बालबालिकाको अवस्थाका बारेमा अध्ययन गरिने बताइन् ।
समितिका दुई वटा टोली स्थलगत अध्ययन तथा भ्रमणको लागि भ्रमणमा जानेछन् । कोशी तथा मधेस प्रदेशको स्थलगत भ्रमणमा जने टोलीले विराटनगर, जनकुपर, सिराहा र उदयपुरमा रहेका स्थानीय तह र बाल क्लवहरुसँग छलफल गर्नेछ ।
यता कर्णाली तथा लुम्बिनी प्रदेशमा जाने टोलीहरुले नेपालगञ्ज र सुर्खेत लगायतका क्षेत्रमा छलफल तथा अध्ययन गर्नेछ । भ्रमण तालिका चार दिनको रहने सभापति दाहालले बताइन् ।