विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको लागि मतदान सुरु भएको छ । विहान ७ बजे देखि सुरु भएको भएपनि केही मतदान केन्द्रमा भने झन्डै १५ मिनेट ढिलाई गरेर सुरु भएको थियो । अहिले मतदान जारी रहेको छ ।
सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भईरहेको छ । मतदानका लागि मतदाता लाइनमा बसेर मत खसालिरहेका छन् ।
गाउँपालिका अध्यक्ष पदका लागि मतदान भएको हो । २६ हजार ४४ जना मतदाता ग्रामथानमा १६ जना उम्मेद्वार अध्यक्ष बन्ने दौडमा छन् ।
निर्वाचन आयोगले मतदानका लागि आज (आइतबार) बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकेको छ । निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने गरी सुरक्षा व्यवस्था मिलाइएका कारण निर्धक्कसाथ मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ । निर्वाचनका लागि ३ घेराको सुरक्षा व्यवस्था मिलाइएको छ ।

निर्वाचनको भित्री एवं पहिलो घेरामा नेपाल प्रहरी रहने छ । बीच वा दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम अर्थात तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने गृह मन्त्रालयले जनाएको छ ।
गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा परिचयपत्र वा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने छन् ।
ग्रामथानको अध्यक्षमा यसअघि २०७९ मा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गत असार ३ गते उनको निधन भएपछि आज उपनिर्वाचन भइरहेको हो ।

ग्रामथानको अध्यक्षमा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जसपाबाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, एकीकृत समाजवादी पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेमकिपाबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र नमनारायण चौधरी स्वतन्त्र उम्मेदवार छन् ।

एक हजार बढी मत खस्यो
यो समाचार तयार पार्दासम्म १ हजारभन्दा बढी मत खसिकेको छ । सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार हालसम्म १ हजार ७६ मत खसिसकेको छ । मतदानस्थल र केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएको र मतदानका क्रममा कुनै समस्या नरहेको उनले बताए ।
सबै केन्द्रमा निर्वाध रूपले मतदान जारी छ । सबैभन्दा बढी मत ग्रामथान–६ को रविहाटस्थित पब्लिक मावि मतदानस्थलमा खसेको छ । त्यहाँ १ सय ९६ मत झरिसकेको हो ।

मतदानस्थलमध्ये ग्रामथान–१ को लखन्तरीस्थित वीरेन्द्र माविमा १ सय ५५, खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालयमा ७२, ग्रामथान–२ स्थित वडा कार्यालयमा १ सय १४, झोराहाटस्थित सरस्वती माविमा ४६, ग्रामथान–३ को भौसाबाडीस्थित राधाकृष्ण आधारभूत विद्यालयमा ६३, सिद्राहास्थित वाणी माविमा ५४ मत खसेको छ ।
त्यस्तै, ग्रामथान–४ को लोहासुरस्थित महेन्द्र माविमा ४६ र मोतीपुरस्थित लोहन्द्रा आधारभूत विद्यालयमा ७१, ग्रामथान–५ को तेतरियास्थित देवी माविमा १ सय ३७, ग्रामथान–६ को रविहाटस्थित पब्लिक माविमा १ सय ९६, ग्रामथान–७ को धोवियारेस्थित गणेश माविमा ७७ र बनिगास्थित सरस्वती आधारभूत विद्यालयमा ४५ मत खसेको छ ।
ग्रामथानमा १२ मतदानस्थल र २९ वटा केन्द्र तोकिएको छ । आज (आइतबार) बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने सहायक निर्वाचन अधिकृत पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस