विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अहिलेसम्म १६ प्रतिशत मत खसेको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी छ ।
यो समाचार तयार पार्दासम्म ४ हजार २ सय ९ मत खसेको छ । सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार २६ हजार ४४ मतदातामध्ये २ हजार ५ सय २ पुरुष र १ हजार ७ सय ७ जना महिलाले मतदान गरिसकेका छन् ।
मतदानस्थल र केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिलेसम्म सबैभन्दा बढी मत ग्रामथान–५ को तेतरियास्थित देवी माविमा खसेको छ । त्यहाँ ६ सय ८२ मत खसेको छ ।
मतदानस्थलमध्ये ग्रामथान–१ को खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालयमा २ सय, लखन्तरीस्थित वीरेन्द्र माविमा ५ सय २६, ग्रामथान–२ स्थित वडा कार्यालयमा ३ सय ९०, झोराहाटस्थित सरस्वती माविमा ३ सय ४५, ग्रामथान–३ को भौसाबाडीस्थित राधाकृष्ण आधारभूत विद्यालयमा २ सय ७२, सिद्राहास्थित वाणी माविमा २ सय ४० मत खसेको छ ।
त्यस्तै, ग्रामथान–४ को लोहासुरस्थित महेन्द्र माविमा २ सय ५६ र मोतीपुरस्थित लोहन्द्रा आधारभूत विद्यालयमा २ सय, ग्रामथान–५ को तेतरियास्थित देवी माविमा ६ सय ८२, ग्रामथान–६ को रविहाटस्थित पब्लिक माविमा ५ सय ७६, ग्रामथान–७ को धोवियारेस्थित गणेश माविमा २ सय ९८ र बनिगास्थित सरस्वती आधारभूत विद्यालयमा २ सय २४ मत खसेको छ ।
ग्रामथानमा १२ मतदानस्थल र २९ वटा केन्द्र तोकिएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहने छ । ग्रामथानको अध्यक्ष चयनका लागि उपनिर्वाचनअन्तर्गत मतदान चलिरहेको हो । ७ वटा वडा रहेको ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता छन् ।
ग्रामथानको अध्यक्षमा यसअघि २०७९ मा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गत असार ३ गते उनको निधन भएपछि अध्यक्ष चयनका लागि आज उपनिर्वाचन भइरहेको हो ।